‘इराकमा स्तब्ध पार्ने परिमाणमा हिंसा’

  • 19 जनवरी 2016
तस्वीर कपीराइट REUTERS
Image caption आइएस विद्रोहीले नृशंस हिंसा मच्चाएको राष्ट्रसंघले जनाएको छ

वितेका दुई वर्षमा इराकमा गैरसैनिकहरु विरुद्ध स्तब्ध पार्ने परिमाणमा तथा नृशंस ढंगका हिंसा मच्चाइएको संयुक्त राष्ट्रसंघले बताएको छ।

उक्त अवधिमा १८ हजार भन्दा धेरै मारिएका अनि ३२ लाख आन्तरीक विस्थापित भएको उसको नयाँ रिपोर्टमा उल्लेख छ।

चित्रण

संयुक्त राष्ट्रसंघले इस्लामिक स्टेट भनिने आइएस विद्रोही समूहमाथि विस्तृत तथा प्रणालीगत रुपले हिंसाको प्रयोग गरेको आरोप लगाएको छ।

सो समूहले करिब ३५ सय महिला तथा बालबालिकालाई दास बनाएको आरोप उसले लगाएको छ।

साथै इराकी सैन्य फौज, लडाकू तथा कुर्दिश फौजबाट भएका हिंसा समेत रेकर्ड गरिएको छ।

राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त जइद राद अल हुसेनले सो रिपोर्टले इराकी शरणार्थीहरु कस्तो अवस्थाबाट भाग्न खोजिरहेका छन् भन्ने चित्रण गरेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको उक्त उच्चायुक्तको कार्यालय तथा यूएन असिस्टेन्स मिशन फर इराकले सो रिपोर्ट मानव अधिकार उल्लंघनका पीडित, तथा प्रत्यक्षदर्शीसंगको अन्तर्वार्ताको आधारमा तयार पारेका हुन्।

सो रिपोर्ट अनुसार सन् २०१४ को जनवरी १ देखि सन् २०१५ को अक्टोबर ३१ तारिखसम्ममा मारिने गैरसैनिकको संख्या १८ हजार ८०२ अनि घाईते हुनेको संख्या ३६ हजार भनिएपनि वास्तविक संख्या सोभन्दा पनि बढी हुन सक्छ।

बीबीसीका अहमद माहेर भन्छन्, आइएस विद्रोहीले सन् २०१४ मा इराकको ठूलो भूभाग कब्जा गर्नुभन्दा पहिले सन् २००६/०७ ताका भएका शिया र सुन्नीबीचको जातिय हिंसालाई छाड्ने हो भने यति धेरै गैरसैनिक त्यहाँ मारिएका थिएनन्।