ब्याज दर उपयुक्त स्तरमा राख्न आग्रह

  • 22 जनवरी 2016
तस्वीर कपीराइट ram sarraff
Image caption लम्बिएको राजनीतिक गतिरोधले कर्जा प्रवाहमा गतिरोध देखा परेको बताइएको छ

नेपाल राष्ट्र ब्याँकले निक्षेपमा ब्याज दर न्यून हुन थालेको प्रति चिन्ता व्यक्त गर्दै ब्याँकहरुलाई निक्षेप र कर्जामा लगाइने ब्याज दरको अन्तरलाई नियमभन्दा धेरै नपार्न आग्रह गरेको छ।

कर्जा लिन चाहनेको संख्या घटेपछि कतिपय ब्याँकले निक्षेपमा ब्याज दर दुई प्रतिशतभन्दा कम पारेका छन्।

ब्याँकमा अर्बौं रुपैयाँ थुप्रिएर बढेको तरलताका कारण ब्याज दर त्यसरी घटेको उनीहरुको भनाई छ।

चिन्ता

साउन यता ब्याँक तथा वित्तिय संस्थाबाट करिब सवा तीन खर्ब रुपियाँ तानिसक्दा पनि ब्याँकहरुमा अझै धेरै पैसा मौज्दात रहेपछि नेपाल राष्ट्र ब्याँक चिन्तामा परेको छ।

गत पाँच महिनामा निक्षेप संकलन रिभर्स रिपो तथा सोझै बिक्री जस्ता वित्तिय औजारमार्फत ५५ पटक बजारबाट पैसा केन्द्रिय ब्याँकले तानिसक्यो।

तर तराई आन्दोलन र नाका अवरोधले शिथिल अर्थतन्त्रका कारण कर्जा लिन चाहने कम हुँदै गएपछि ब्याँकहरुले निक्षेपमात्रै जम्मा गर्न नसकिने संकेतका रुपमा ब्याज घटाएको बताएका छन्।

तर कर्जामा लगाइने ब्याज दर उही अनुपातमा नघटाइंदा स्प्रेड भनिने दुई थरी दर बीचको अन्तर पाँच प्रतिशतमा सीमित राखिनु पर्ने नियम मिचिन सक्ने चिन्ता केन्द्रिय ब्याँकको छ।

त्यसप्रति सजग रहन उसले ब्याँकहरुलाई भनेको छ।

राष्ट्र ब्याँकका प्रवक्ता त्रिलोचन पंगेनीले भने, "मौद्रिक तथा वित्तिय स्थायित्वका लागि गर्नुपर्ने सबै काम गर्न हामी तम्तयार रहनु पर्छ। त्यस्तै ब्याँकहरुले पनि मुलुकप्रतिको आफ्ना सामाजिक दायित्वलाई ख्याल गरेर ब्याज दरलाई उपयुक्त स्तरमा राख्नुपर्छ।”

ब्याँकहरु चाहीं कर्जाको दर पनि अहिले सबैले घटाइरहेको बताउँछन्।

यसको दिगो समाधान राजनीतिसंग गाँसिएको उनीहरुको भनाई छ।

नेपाल ब्याँकर्स संघका उपाध्यक्ष अनिल शाहले भने, “अहिले कर्जा कसले लिने? नयाँ आयोजनाको त कुरै छाडौं भइरहेका आयोजनामापनि मालसामान ल्याउन सकेका छैनन्। कर्जा नलिएपछि हामीले निक्षेपमात्रै संकलन गर्न सक्दैनौं। तर यदी राजनीतिक स्थिरता भएर अर्थतन्त्र चलायमान भए यो ब्याज जति चाँडो घटेको छ उति नै चाँडो बढ्न पनि सक्छ।”

नेपाल राष्ट्र ब्याँकको आँकडा अनुसार हाल ब्याँक तथा वित्तिय संस्थाहरुमा जम्मा करिब १७ खर्ब रुपैयाँ निक्षेप छ भने तिनले करिब १३ खर्ब कर्जा प्रवाह गरेका छन्।