जापानी अर्थमन्त्रीको राजीनामा

  • 28 जनवरी 2016
तस्वीर कपीराइट AP

जापानका अर्थमन्त्री अकिरा अमारीले भ्रष्टाचारका अभियोगहरु माझ आफूले राजीनामा दिन लागेको बताएका छन्।

राजधानी टोकियोमा विहीबार आयोजीत एउटा पत्रकार सम्मेलनका क्रममा मन्त्री अमारीले अनपेक्षित रुपमा त्यस्तो घोषणा गरेका हुन्।

तर उनले आफूले एउटा निर्माण कम्पनीबाट व्यक्तिगत रुपमा घुस लिएको भनी एउटा जापानी पत्रिकाले लगाएको आरोपलाई पुन: अस्वीकार गरेका छन्।

उनको राजीनामाको घोषणालाई प्रधानमन्त्री शिन्जो आबेका लागि एउटा ठूलो धक्काको रुपमा हेरिनेछ।

सन् २०१२ को अन्ततिर देखि आर्थिक र वित्तिय निति मामिलाका राज्यमन्त्री रहेका अमारी प्रधानमन्त्री आबेका सबैभन्दा विश्वासपात्र सांसदका रुपमा चिनिन्छन्।

ट्रान्स प्यासिफिक पार्टनरसिप (टीपीपी) सम्झौताको लागि जापानको मुख्य वार्ताकार रहेका अमारी आउँदो साता सो सम्झौतामा हस्ताक्षर गर्न न्यूजिल्याण्डमा जाने कार्यक्रम थियो।

आबेनोमिक्स

बस्तुहरुको मूख्य खस्कने विषम आर्थिक परिस्थितीबाट संसारको तेस्रो ठूला अर्थतन्त्र जापानलाई बाहिर निकाल्ने प्रधानमन्त्री आबेको ‘आबेनोमिक्स’ भनिने योजनाका रचनाकारका रुपमा पनि अमारीलाई चिनिन्छ।

बीबीसीकी मारिको ओइ भन्छिन्, “प्रधानमन्त्री आबेको प्रशासनले सामना गरेको यो सम्भवत: सबैभन्दा ठूलो काण्ड हो।

हाम्रीसम्बाददाता भन्छिन्,“अर्थमन्त्री अमारीको राजीनामाले प्रधानमन्त्री आबेको आर्थिक नीतिहरु माथि थप प्रश्नहरु उठाउन सक्छ। यसबाट टिपीपीबारे पनि जापानभित्रै विरोध बढाउन सक्छ।”

तस्वीर कपीराइट AP

अर्थमन्त्री अमारीको ठाउँमा नोबुटेरु इशिहारालाई नियुक्त गरिनेछ, जो पहिले वातावरण मन्त्री थिए।

जापानको एउटा स्थानीय पत्रिकाले अघिल्लो साता एउटा समाचार प्रकाशित गर्दै अमारी र उनका सहयोगीहरुलाई जग्गाको स्वामित्व सम्बन्धी सहयोग पुर्याएको भन्दै एउटा निर्माण कम्पनीले १ लाख १ हजार डलर बराबरको नगद र उपहार दिएको खुलासा गरेको थियो।

अमारीले त्यसबेला आफूले पैसा लिएको स्वीकार गर्दै त्यसलाई राजनीतिक चन्दाको रुपमा घोषित गर्न चाहेको तर आफ्ना कर्मचारीहरुले सहि रुपमा त्यसलाई प्रस्तुत गर्न नसकेको बताएका छन्।