भारतमा सामूहिक बलात्कार गर्ने तीनजनालाई फाँसी

  • 30 जनवरी 2016
तस्वीर कपीराइट PM Tewari
Image caption सामुहिक बलत्कारको मुद्दाको पीडित परिवारकी आफन्त

पश्चिम बंगालको बहुचर्चित कामदुनी सामूहिक बलात्कार र हत्याको मुद्दामा कोलकाताको एउटा अदालतले तीनजना अभियुक्तलाई फाँसीको सजाय दिएको छ।

यही मुद्दाका अन्य तीन अभियुक्तले भने जन्मकैदको सजाय पाएका छन्।

सजाय सुनाउनु अघि अदालतले बिहीबार यी ६ जना अभियुक्तलाई दोषी ठहराएको थियो।

अपिल

दोषी ठहराएपछि उनीहरुलाई सजाय दिनेबारे शुक्रबार र शनिबार भएको बहसमा दुबै पक्षको तर्क सुनेपछि न्यायाधीश संचिता सरकारले शनिबार खचाखच भरिएको अदालतमा उक्त सजाय सुनाएकी हुन्।

यो मुद्दामा प्रमाणको अभावमा अरु दुईजना अभियुक्तलाई उन्मुक्ति दिइएको थियो।

अदालतले अन्सार अली, शेख अमीन अली र सैफुल अलीलाई सामूहिक बलत्कार र हत्याको अभियोगमा दोषी ठहर्याउँदै फाँसीको सजाय सुनाएको छ।

त्यस्तै अमिनुर इस्लाम, शोख इनामुल र भोलानाथलाई आजीवन जेल सजाय सुनाएको छ।

प्रतिवादीले यो फैसलाविरुद्ध हाइकोर्टमा अपिल गर्ने बताएको छ।

सरकारी वकिल अनिन्द्य रञ्जनले आफूले पेश गरेको तर्क स्वीकार गर्दै अदालतले दोषीलाई सबैभन्दा ठूलो सजाय सुनाएको र त्यसबाट आफूहरु सन्तुष्ट भएको बताए।

सन् २०१३ को जुनमा कलेजबाट घर फर्कँदै गरेकी २१ वर्षीय छात्रालाई ९ जना केटाहरुले अपहरण गरेका थिए।

उनीहरुले एउटा सुनसान ठाउँमा लगेर ती छात्राको सामूहिक बलात्कारपछि हत्या गरेका थिए।

त्यसको भोलिपल्ट ती छात्राको शव एउटा खेतमा भेटिएको थियो।

स्वागत

घटनापछि कामदुनीका मानिसहरुले दोषीलाई कडा सजाय दिएर पीडितलाई न्याय दिनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका थिए।

दबाबका लागि कामदुनी प्रतिवादी मञ्च नामक एक संगठन पनि बनेको थियो।

उक्त घटनामा संलग्न भएको आशंकामा गिरफ्तार गरिएका ९ जनामध्ये एकजनाको गत वर्ष मृत्यु भइसकेको छ।

दुई दिन पहिला अदालतले दोषी ठह-याउने बितिक्कै विभिन्न मानवअधिकार तथा महिला संगठनहरुले उनीहरुलाई फाँसी दिनुपर्ने माग गर्दै अदालतबाहिर प्रदर्शन गर्दै आएका थिए।

शनिबार पनि अदालतको बाहिरी भागमा धेरै प्रहरीहरु तैनाथ गरिएको थियो।

सामूहिक बलत्कार र हत्या गरिएको यो घटनाको विरोधमा उत्रिएकी टुम्पा कयालले भनिन्, “हामी यो फैसलाबाट खुशी छौं। तर बाँकी दुईजना अभियुक्तलाई पनि फाँसी दिनुपर्ने थियो।”