सिरियाका विपक्षी जिनीभा वार्तामा आउने

  • 30 जनवरी 2016
तस्वीर कपीराइट AFP

सिरियाको प्रमुख विपक्षी गठवन्धनले जिनीभामा राष्ट्रसंघको तत्वावधानमा देशमा जारी गृहयुद्ध अन्त्य गर्ने प्रयासमा भैइरहेका शान्ति वार्तामा सहभागी हुने बताएको छ।

जिनीभामा सम्पन्न पहिलो दिनको वार्तामा सरकारी पक्षका प्रतिनिधिमात्र सहभागी भएपछि उत्पन्न अन्यौलका माझ उक्त खबर आएको हो।

सिरियाका लागि राष्ट्रसंघीय दूतले वार्ताबाट मात्रै शान्ति स्थापना गर्न सकिने भन्दै सबै पक्षको ध्यानाकर्षण गराएका छन्।

लामो समयदेखि प्रतीक्षा गरिएको उक्त वार्ता केही समयका लागी साँच्चिकै सुरु नै अन्त्य पो हुने हो कि जस्तो देखिएको थियो।

प्रयास

तस्वीर कपीराइट AFP

पहिलो दिनको वार्तामा विपक्षी समूह सरकार शान्ति स्थापना गर्न गम्भीर नभएको भन्दै सहभागी भएन।

विपक्षीहरुले सरकारी घेराबन्दी हटाइनुपर्ने विषयलाई पहिलो सर्त बनाएका छन्। सिरियाली सरकारी प्रतिनिधिमण्डल राष्ट्रसंघमा एक घण्टा बिताएपनि कुनै प्रतिक्रिया नदिइ बाहिरिएका थियो।

तर राष्ट्रसंघका विशेष दूत स्टाफान ड मिस्टुराले सकारात्मक बन्ने प्रयास गरे।

विपक्षीहरु पनि वार्तामा आउनेमा आशावादी देखिएका मिस्टुराले भने, “मसँग विश्वास गर्ने भरपर्दा कारणहरु छन् उनीहरुले यसलाई एकदमै गम्भीर रुपमा लिइरहेका छन्, मलाई लाग्छ संभवत आइतबारबाट उनीहरुसँग छलफल सुरु गर्न सक्छौँ।”

कठिन

तस्वीर कपीराइट Getty

एकदमै अन्यौलको अवस्थापछि, विपक्षीहरुबाट आएको एउटा वक्तव्यमा वार्ताका लागि आगामी दिनमा जिनीभामा आफ्ना प्रतिनिधि पठाउने उल्लेख गरिएको छ।

राष्ट्रसंघले सधैँ यस्ता वार्ता कठिन हुने जनाएको छ।

पाँच वर्ष यता सिरियामा जारी द्वन्द्वमा अढाईलाख भन्दा बढीले ज्यान गुमाएका छन् भने एक करोड भन्दा बढी मानिसहरु विस्थापित भएका छन्।

अहिले शान्तिको लागि वार्ता गर्ने ठानिएका पक्षहरुबीच एकआपसमा एकदमै आक्रोश अनि तिक्तता छ र कसैले पनि चाँडै निकास निस्कन्छ भन्ने ठानेका छैनन्।