‘समर्थन खोज्न’ मोर्चाका नेता बिहारमा

  • 31 जनवरी 2016
तस्वीर कपीराइट ram sarraff
Image caption पाँच महिना यतातराईका कतिपय क्षेत्रमा संविधानको विरोधमा आन्दोलनका कार्यक्रमहरु भइरहेका छन्

तराईका कतिपय जिल्लाहरुमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु भारतको सीमावर्ती क्षेत्रका नेता र जनताको समर्थन जुटाउन बिहार पुगेका छन्।

उत्तरी बिहारको प्रमुख शहर मुजफ्फरपुरमा महन्थ ठाकुर बाहेक मोर्चा सम्बद्ध तीनै दलका नेताहरुले नेपालमा जारी आन्दोलनबारे जानकारी गराउँदै समर्थनको अपिल गरेका हुन्।

बिहारको सत्तारुढ पार्टी राष्ट्रिय जनता दलका राष्ट्रिय उपाध्यक्ष रघुवंश प्रसाद सिंहको सक्रियतामा कार्यक्रमको आयोजना गरिएको थियो।

‘पीडा पोखे’

उक्त कार्यक्रममा मोर्चाका नेताहरुले आफूहरुले गरिरहेको आन्दोलनबारे जानकारी गराएका थिए।

कार्यक्रममा सहभागी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बिहारबाट टेलिफोनमा भने, “सीमा क्षेत्रका जनतासँग रोटीबेटीको सम्बन्ध रहेकाले हाम्रो पीडा अवगत गराएर उनीहरुको सहयोग र समर्थनकानिम्ति यहाँ आएका हौं।”

नेपालमा हालै गरिएको संविधान संशोधनलाई भारतले सम्मान गरेपछि सीमा क्षेत्रका बासिन्दाले आन्दोलनप्रति चासो लिन छाडेको बेला मोर्चाका नेताहरु सीमावार्ती भारतीय राज्य बिहार पुगेको बताइन्छ।

भारतका पूर्व केन्द्रिय मन्त्री रघुवंश प्रसाद सिंहले आन्दोलनकारी दलका नेताहरुलाई ‘महागठबन्धन’ बनाउन सुझाव दिएका थिए।

'मायाको खोजी'

उनले बीबीसीलाई प्रतिक्रिया दिँदै भने, “त्यहाँका खसवादी प्रधानमन्त्रीले आन्दोलनमाथि दमन गरिरहेका छन्। छ महिनादेखि आन्दोलन चलिरहेको छ। तर मधेसीहरु विभिन्न पार्टीमा विभाजित छन्। त्यसैले ‘महागठबन्धन’ बनाउन सबै नेताहरुबीच छलफल भएको छ।”

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने त्यो कुरा अस्वीकार गरे।

उनले भने, “महागठबन्धन होस् भन्ने उहाँको धारणा हो, कसैले बोल्यो त्यो कुरा अलग हो, छलफल गर्न यहाँ आएको हैन, यहाँ आइराख्नु पनि पर्दैन। भारतीय जनताको सद्भाव, सहयोग र माया चाहिएको हो।”

आइतबार नै पटना पुगेका मोर्चाका नेताहरुले बिहारका मुख्यमन्त्री नीतिशकुमार र राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ।

दिल्लीमा उपचार गराएर फर्किएका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर भने काठमाण्डूमै छन्।