वार्ता गर्न सिरियाली विपक्षी जिनीभामा

  • 31 जनवरी 2016
तस्वीर कपीराइट AP

सिरियाको प्रमुख विपक्षी गठवन्धन, राष्ट्रसंघीय तत्वावधानमा भइरहेको वार्तामा सहभागी हुन स्वीट्जरलयाण्डको जिनीभा पुगेको छ।

'हाइ नेगोसियसन्स कमिटी' नाम दिइएको विपक्षी वार्ता टोलीले मुलुकभित्रको नरसंहार रोकिएमात्रै वार्ता गर्ने अडान दोहोर्याएको छ।

टोलीका एक जना प्रवक्ताले सरकारी घेराबन्दीका कारण भोकमरीले बालबालिकाहरुको ज्यान गइरहेको बताए।

त्यसमा हवाई आक्रमण गर्ने रुस पनि जिम्मेवार रहेको उनको आरोप थियो।

युद्ध

विपक्षी टोलीले त्यस्तो अवस्था अन्त्यका लागि आफूहरु जिनीभा पुगेको बताएको छ।

तस्वीर कपीराइट AFP

तर आफूहरुले राष्ट्रसंघीय अधिकारीहरुसंगमात्रै वार्ता गर्ने र राष्ट्रपति बसर अल असदको सरकारसंग प्रत्यक्ष रुपमा कुराकानी नगर्ने विपक्षीहरुले जनाएका छन्।

राष्ट्रसंघीय दूत स्टाफान ड मिस्टुराले सिरियाली सरकारका प्रतिनिधिहरुलाई जिनीभामा भेटिसकेका छन्।

पांच वर्षयता जारी सिरियाली युद्धमा २ लाख ५० हजार मानिसको ज्यान गइसकेको छ भने १ करोड १० लाख जति आफ्नो घर छाडी भागेका छन्।

युरोपको आप्रवासी संकट पछाडि सबैभन्दा ठूलो कारणको रुपमा सिरियाली युद्धलाई मानिएको छ।

उक्त युद्ध अन्त्यका लागि भएको पछिल्लो वार्ता प्रयासलाई अमेरिका र ब्रिटेनले स्वागत गरेका छन्।