सिरियाबारे जिनीभामा वार्ता हुँदै

  • 1 फेब्रुअरी 2016
तस्वीर कपीराइट Reuters

युरोपेली युनियनकी विदेश नीति प्रमुखले ५० जनाभन्दा बढीको ज्यान जाने गरी आइतबार दमास्कसमा गराइएको बम बिस्फोटले, राष्ट्रसंघको तत्वावधानमा भईरहेको सिरियाबारेको शान्ति वार्ता भाँड्ने उद्देश्य राखेको बताएकी छन्।

उक्त वार्ताका लागी जिनीभा पुगेकी फेडेरीका मोग्यारीनीले सिरियाली विपक्षीहरुले वार्तामा भाग लिने निर्णय गरेकोमा आफू उत्साहित भएको धारणा राखेकी हुन्।

सिरियाका लागि राष्ट्रसंघीय दूतले सोमबार सरकारी प्रतिनिधि र त्यसपछि विपक्षी समूहको प्रतिनिधिमण्डलसँग जिनीभामा वार्ता गर्ने कार्यक्रम छ।

वासिङ्टनमा अमेरिकी विदेशमन्त्री जन केरीले, वार्तालाई रक्तपात रोक्ने अवसरका रुपमा प्रयोग गर्न दुवै पक्षलाई आग्रह गरेका छन्।

वार्ता

वार्ताकोलागि प्रयासहरु थालिएदेखि नै उपलब्धी खासै नदेखिएपनि मनोबल उत्साहप्रद रहँदै आएको छ।

शुरुमा सिरियाली विपक्षीले वार्ता अघि सरकारी घेराबन्दी अन्त्य गरिनुपर्ने र हवाई हमलाहरु रोकिनुपर्ने माग राखेको थियो।

तर जब विपक्षी नेताहरु अन्तत वार्ताका लागि जिनीभा आइपुगे, घेराबन्दीमा परेको सिरियाली नगर मदायामा भोकमारीका कारण थप मानिसहरु मरेको खबर प्रकाशमा आयो।

र त्यसपछि आइतबार इस्लामिक स्टेट समूहको शैली अपनाएर दमास्कसमा गराइएको शक्तिशाली बम विस्फोटनमा कम्तीमा ५० जनाले ज्यान गुमाए।

सरकार र विपक्षीबीच यति विधि अविश्वास र आक्रोश छ, दुवै पक्षका प्रतिनिधिहरु अमुन्ने सामुन्ने समेत बसिरहेका छैनन्।

अविश्वास

सिरियाली सरकारी वार्ता टोलीका प्रमुख बसर अल जाफरीले उक्त हमलाले विपक्षी र आतंकवादबीच सम्बन्ध रहेको प्रमाणित गरेको टिप्पणी गरेका छन्।

उनले भने, “हामी व्यक्ति विशेषसँग वार्ता गर्दैनौँ, हामी आतंकवादीसँग वार्ता गर्दैनौँ त्यही भएर नै विशेष दूतले अप्रत्यक्ष वार्ता गरौँ भन्नेमा जोड दिनुभयो। हामीलाई अर्को पक्षको प्रतिनिधिमण्डलमा को को वार्ता गर्न आएका छन् भन्ने पनि अहिलेसम्म थाहा छैन्।”

राष्ट्रसंघका कूटनीतिज्ञहरुले दुवै पक्षसँग कुराकानी गरी पहिला मानवीय सहायताको पहुँच पुर्याउन स्थानीयस्तरमा युद्धविराम गराउने जस्ता साना खालका सम्झौता गर्ने प्रयास गर्नेछन्।

सरकार वार्ताको लागि गम्भीर नभएको बताउँदै आएको विपक्षी समूहले मानवीय अवस्था नसुध्रिए वार्ता छाडेर जाने चेतावनी दिएको छ।

सिरियामा वास्तविक युद्धले ध्वंस मच्चाइरहँदा जिनीभामा चाँहि वाकयुद्ध शुरु हुन लागेको देखिन्छ।