इयुको प्रस्तावमा समर्थन गर्न क्यामरनको आग्रह

  • 3 फेब्रुअरी 2016
तस्वीर कपीराइट AFP

ब्रिटेनका प्रधानमन्त्री डेविड क्यामरनले संसदलाई सम्बोधन गर्दै युरोपेली संघ (इयु) संगको ब्रिटेनको सम्बन्धमा परिवर्तन गर्न आफूले मोलमोलाई गरेको मस्यौदा प्रस्तावलाई समर्थन गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री क्यामरनले युरोपेली संघ र सदस्य राष्ट्रहरुबीच अझ निकट सम्बन्ध बनाउने योजनाबाट आफूले ब्रिटेनलाई बाहिरै राख्‍ने र सुधारिएका इयुको सदस्य हुनु ब्रिटेनको लागि पनि उपयुक्त हुने बताए।

युरोपेली आयोगका अध्यक्षले सार्वजनिक गरेका उक्त मस्यौदा प्रस्तावमा इयुका आप्रवासीहरुले दावी गर्न पाउने निश्चित सुविधाहरुलाई चार वर्षसम्म सीमित तुल्याउन पाइने अनुमति ब्रिटेनलाई दिइने उल्लेख छ।

आलोचना

प्रधानमन्त्री क्यामरनले ती प्रस्तावहरुलाई लिएर चर्को आलोचना व्यहोरिरहेका छन्।

तस्वीर कपीराइट PA

उनको क्याबिनेटका कम्तीमा पनि पांच जना मन्त्रीले ब्रिटेन युरोपेली संघबाट बाहिरिनु पर्छ भन्ने पक्षको प्रचार प्रसारमा लाग्ने विचार गरिरहेका विवरणहरु बाहिर आएको छ।

ब्रिटिश प्रधानमन्त्रीले आगामी दुई हप्तामा युरोपेली संघका सदस्य राष्ट्रहरुको ब्रसल्समा हुने शिखर बैठकमा सो मस्यौदाप्रति सबैको समर्थन हासिल गर्ने प्रयास गरिरहेका छन्।

जनमत संग्रह

त्यसपछि आगामी जुन महिनामा ब्रिटेनमा, ब्रिटेन युरोपेली संघको सदस्य बनीरहने हो या होइन भन्ने विषयमा जनमत संग्रह गर्न बाटो खुल्नेछ।

तस्वीर कपीराइट istock

उनले सांसदहरुलाई सम्बोधन गर्दै उक्त मस्यौदा प्रस्तावका सूक्ष्म विवरणहरुका बारे गहन वार्ताहरु हुने बताएका छन्।

तर युरोपेली आयोगले प्रस्तुत गरेको मस्यौदा प्रस्ताव युरोपेली आप्रवासीहरुको आवतजावतका बारे आफूहरुले हासिल गरेको हालसम्मको सबैभन्दा बलियो उपलब्धि भन्ने प्रधानमन्त्रीको भनाई रहेको छ।

विपक्षी लेबोर पार्टीका नेता जेरमी कोर्बीनले उनको पार्टीले ब्रिटेन युरोपेली संघमा नै रहोस् भन्ने चाहेको तर प्रधानमन्त्रीले उपलब्धिका रुपमा प्रस्तुत गरेका मस्यौदा प्रस्ताव खाली भ्रममात्र भएको बताएका छन्।