‘पैसाले सिरियाली समस्या समाधान हुँदैन’

  • 5 फेब्रुअरी 2016
शरणार्थी तस्वीर कपीराइट Reuters
Image caption सिरयाली शरणार्थीको निम्ति आर्थिक सहयोगको प्रतिवद्धता भएको बेला सिरियामा चाँहि तनाव चर्किएका विवरण आएका छन्

युरोपली संघ इयुकी विदेश मामिला प्रमुख फेडेरिका मोघेरिनीले भनेकी छन्, सिरियाली द्वन्द्वका पीडितहरुका लागि पछिल्लोपटक दाताहरुले व्यक्त गरेको अर्बौं डलरको प्रतिवद्धता सिरिया समस्याको सांचो जवाफ होइन।

लण्डनमा सम्पन्न दाताहरुको भेलामा सिरियाका द्वन्द्व पीडितका निम्ति १० अर्ब डलर सहयोगको वाचा सार्वजनिक भएलगत्तै उनको त्यस्तो भनाइ आएको हो।

सिरियामा राजनीतिक समाधान खोजिनु पर्नेमा उनले जोड दिएकी छन्।

मोघेरिनीले भनिन्, “मलाई यो भन्न दिनुहोस कि रकमले मात्रै केही हुंदैन। मलाई भन्दा तपाईहरुलाई यो कुरा थाहा छ। पैसा भए मानवीय सहयोग हुन्छ तर सम्बन्धित ठाउंसम्म पुग्ने पहुंच र राजनीतिक बाटो भने हुनेछैन।”

“हामी फेरि थप रकमका साथ यही भेट्नेछौं तर विना समाधान।”

योजना

प्रतिवद्धता जनाइएको रकमको ठूलो हिस्सा छिमेकी मुलुकहरुमा रहेका शरणार्थीहरुका लागि खर्च गरिने बताइएको छ।

सिरियामा ठूलो आर्थिक सहयोग दिने अन्तर्राष्ट्रिय समुदायको प्रतिवद्धताको कयौं नेताहरुले स्वागत गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले पनि सो वाचाको स्वागत गर्दै भनेका छन् यस अघि कहिल्यै पनि एकै दिनमा एउटै संकट समाधानको निम्ति अन्तर्राष्ट्रिय समुदायले यति धेरै पैसा जुटाउने प्रतिवद्धता जाहेर गरेको थिएन।

दाताहरुले दिने भनेको रकमको ठूलो हिस्सा सिरियाको छर छिमेकका देशहरुमा रहेका शरणार्थीहरुको दीर्घकालीन भविष्यको निम्ति खर्च गरिने भनिएको छ।

लण्डनमा दाता सम्मेलन सकिएलगत्तै सिरियामा चाँहि द्वन्द्व झनै चर्किएको र दशौं हजार सिरियाली शरणार्थीहरु एलेप्पो शहर नजिकैबाट टर्कीको सीमातर्फ भागिरहेका विवरणहरु आएका छन्।

टर्कीका प्रधानमन्त्रीको भनाइमा करिव ७० हजार शरणार्थीहरु सीमाक्षेत्रतिर आइरहेका छन्।

रुसी हवाई हमला तीव्र भएपछि सिरियाली सरकारी फौजहरुलाई विपक्षी नियन्त्रित क्षेत्रमा पकड जमाउन सहज भइरहेको बताइन्छ।

तर त्यसले मानवीय संकट झनै बढाएकोप्रति चिन्ताहरु सार्वजनिक भइरहेका छन्।