मोर्चाद्वारा नाका-धर्ना स्थगित, विवाद चर्कियो

  • 8 फेब्रुअरी 2016
प्रहरी
Image caption तराईमा जारी आन्दोलनका क्रममा जनधनको ठूलो क्षति भएको थियो

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भारतसँगको सीमानाकाको धर्ना र आम हडताल कार्यक्रम स्थगित गरेको छ।

यसअघि नै अवरोध अन्त्य भइसकेका नाकाहरु मोर्चाको निर्णयसँगै औपचारिक रुपमै खुला भएका छन्।

मोर्चाले भनेको छ, “आम हड्ताल, नाका अवरोध र सरकारी कार्यालय बन्दलाई मात्र तत्कालका लागि स्थगित गरी यसका अतिरिक्त आन्दोलनका अन्य कार्यक्रमहरु यथावतै नै रहिरहने छ।”

निर्णय

‘मुलुकको समस्या, जनताका आवश्यकता र जनताद्वारा प्राप्त सुझावहरुलाई ध्यानमा राख्दै’ उक्त निर्णय लिइएको मोर्चाले जनाएको छ।

मोर्चाको असहमतिका माझ वीरगञ्ज नाकाको अवरोध स्थानीय व्यवसायी र सर्वसाधारणले अन्त्य गरिदिए पछि मोर्चाको त्यस्तो निर्णय आएको हो।

सोमबार बिहान भएको बैठकको निर्णय दिउँसो विज्ञप्ति मार्फत सार्वजनिक गरिएको थियो।

तर बैठकमा सहभागी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको हस्ताक्षर विज्ञप्तिमा छैन।

विवाद

उक्त दलका महासचिव मनिष सुमनका अनुसार अन्य निर्णय सहमति अनुसार लेखिए पनि विज्ञप्तिको चार नम्बर बुँदाप्रति विमति रहेकाले महतोले हस्ताक्षर नगरेका हुन्।

उक्त बुँदामा भनिएको छ, “आन्दोलनकै क्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको पछिल्लो कार्य र अभिव्यक्तिबाट आन्दोलनलाई ठूलो क्षति पुग्न गएको हुँदा अब उप्रान्त यस्ता क्रियाकलाप नगर्न र नगराउन मोर्चा निर्देश गर्दछ।”

संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले ‘मोर्चाको निर्णय विपरीत वीरगञ्ज नाका खुल्ने घोषणा गर्ने, प्रधानमन्त्री र एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसँग भेट गर्ने गरेकाले त्यस्तो निर्देशन दिइएको’ बताए।

तर सद्भावना पार्टीका महासचिव सुमनले भने, “हाम्रा अभिव्यक्तिहरु, हामीले गरेका उर्जापूर्ण काम र आन्दोलनमा इमान्दारी तथा निष्ठापूर्वक वहन गरेका कर्तव्यको मूल्याङ्कन मधेसी जनताले गर्ने हो नकि मोर्चाका केही नेताले।”

प्रस्ताव

मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्ने चर्चाका माझ महतोले आफूले बैठकमा वीरगञ्ज नाकाको अवरोध हटाउनु पर्ने प्रस्ताव राख्ने धारणा सार्वजनिक गरेका थिए।

जोगबनी नाकामा धर्ना बस्न गएका बेला भएको झडपमा घाइते भएपछि थप उपचारका निम्ति भारत गएका महतो त्यहाँबाट फर्किएपछि प्रधानमन्त्री केपी ओली तथा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसँगका उनका भेटवार्ता र संवाद सौहार्द्रपूर्ण देखिने गरेका थिए।

धर्ना स्थगित गर्ने मोर्चाको निर्णयलाई ‘सकारात्मक’ रुपमा लिएका प्रधानमन्त्री ओलीले विवाद र असहमतिका विषय वार्ता र संवादबाटै हल गर्न सकिनेमा आफू विश्वस्त रहेको बताएका छन्।

प्रधानमन्त्रीको भारत भ्रमण अघि आन्दोलनरत मोर्चाले लिएको पछिल्लो निर्णयलाई अर्थपूर्णरुपमा हेरिएको छ।