प्रधानमन्त्री ओलीसंग भारतीय विदेशमन्त्रीको भेट

  • 9 फेब्रुअरी 2016
तस्वीर कपीराइट bbc
Image caption भारतीय सर्वदलीय टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गरेको थियो

पूर्व प्रधानमन्त्री सुशील कोइरालाप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न नेपाल आइपुगेको भारतीय विदेशमन्त्री सुष्मा स्वराजको टोलीले मंगलबार साँझ प्रधानमन्त्री केपी ओलीसंग भेटघाट गरेको छ।

भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले नेपालको दुखको घडीमा भारत संधै साथ रहेको बताएको अधिकारीहरुले जनाएका छन्।

मित्र

छोटो भ्रमणमा काठमाण्डू आइपुगेको भारतीय नेताहरुको टोली काठमाण्डूस्थित दशरथ रंगशाला पुगेर दिवंगत पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरे लगत्तै प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेको थियो।

जहाँ उनीहरुसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले दुखको घडीमा भारत संधै नेपालको साथ रहँदै आएको बताएको उनका विदेश मामिला विज्ञ गोपाल खनालले बताए।

“दुख परेको बेला भारत संधै नेपालको मित्र हो भन्ने कुरा यो उच्चस्तरीय भ्रमणले समेत उजागर गरेको प्रधानमन्त्रीले भारतीय नेताहरुलाई बताउनुभएको छ,” उनले भने।

विदेशमन्त्री स्वराज नेतृत्वको टोलीमा भारतीय राष्ट्रिय कांग्रेसका आनन्द शर्मा, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव तथा भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका नेता सीताराम यचुरी सामेल छन्।

साथै उक्त टोलीमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल समेत रहेका छन्।

प्रधानमन्त्री ओलीसंगको भेटपश्चात सो टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गरेको थियो।

संवाद

हुन त विदेशमन्त्री स्वराज सहितको भारतीय टोली आकस्मिक रुपमा काठमाण्डू आइपुगेको हो।

तर गत असोजमा नयाँ संविधान जारी भएसंगै उत्पन्न नाका अवरोधका अवस्थाले दुई देशको सम्बन्ध विग्रिएको बेला भएको उक्त भ्रमणको आफ्नै महत्व रहने जानकारहरु बताउँछन्।

मंगलबारको भेटघाटमा राजनीतिक विषयमा धेरै कुरा नभएपनि संविधानमा देखिएको विवादबारे प्रधानमन्त्री ओलीले छोटो भनाई राखेको उनका वैदेशिक मामिला विज्ञ खनालले बताए।

“नयाँ संविधानको व्याख्याका आधारमा भएका कतिपय विवाद र असमझदारी संवादबाटै हल गरिएको छ र अझै गरिनेछ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ,” खनालले बताए।

केही दिन अगाडी वीरगञ्ज रक्सौल नाकाबाट पुन: सवारी साधनको आवतजावत शुरु भएपछि दुई देशबीच सम्बन्ध सुधारका संकेत देखिएका थिए।

त्यसै क्रममा प्रधानमन्त्री ओलीको केही साताभित्रै हुने भनिएको भारत भ्रमणको तयारीका निम्ति अर्थमन्त्री विष्णु पौडेल दिल्ली पुगेका थिए।

मंगलबारको बालुवाटार भेटघाटमा पनि ओलीलाई दिल्लीमा स्वागत गर्न आतुर रहेको भारतीय नेताहरुले बताएको जनाइएको छ।