भारतीय नेताहरुद्वारा कोइरालाप्रति श्रद्धाञ्जली

  • 9 फेब्रुअरी 2016
तस्वीर कपीराइट bbc
Image caption भारतीय टोली आजै दिल्ली फर्कने कार्यक्रम छ

सर्वदलिय टोलीको नेतृत्व गर्दै नेपाल आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन्।

दशरथ रंगशालामा श्रद्धान्जलीका लागि राखिएको पार्थिव शरीरमा माल्यार्पण गर्दै फूल चढाएर अन्तिम सम्मान प्रकट गरेको हो।

लगत्तै उक्त टोलीले दशरथ रंगशालामा रहेका नेपाली काँग्रेसका नेताहरुसँग संक्षिप्त कुराकानी गर्दै भारतीय नेतृत्वको तर्फबाट शोक सन्देश सुनाएको थियो।

कोइरालालाई सादा जीवन र उच्च विचारको व्यक्ति भन्दै उक्त टोलीले शोक पुस्तिकामा नेपालको महत्वपूर्ण राजनीतिक संक्रमण उनकै नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको जनाएको छ।

दुख

उक्त टोलीमा भारतीय राष्ट्रिय कांग्रेसका आनन्द शर्मा, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव, भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका नेता सीताराम यचुरी र प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित दोभल छन्।

प्रधानमन्त्री केपी ओलीलाई मंगलबार साँझ भेटी विदेशमन्त्री स्वराज र दोभल सहितको टोलीले दिल्ली फर्कने कार्यक्रम छ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि आजै सामाजिक संजाल ट्विटरमा कोइरालाको निधन प्रति दुख व्यक्त गरेका थिए।

गएको असोजमा नेपालले संविधान जारी गरे यता काठमाण्डू भ्रमण गर्ने यो सबैभन्दा उच्चस्तरको भारतीय प्रतिनिधिमण्डल हो।

नयाँ संविधानलाई स्वागत नगरेको भारतले तराईका केही जिल्लामा भैरहेका आन्दोलन प्रति समर्थन गरेको र नेपालमा इन्धन लगायत अत्यावश्यक वस्तुहरुको आपूर्तीमा कटौती गरेको आरोप खेपेको थियो।

असहज

तर सरकारले तराईमा आन्दोलनरत मोर्चाले राखेका समानुपतिक समावेशी प्रतिनिधित्व र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण सम्बन्धी माग अनुसार संविधान संशोधन अघि बढाएपछि भारतले त्यसको स्वागत गरेको थियो।

संविधान जारी भएपछि नेपालबाट परराष्ट्र मन्त्री कमल थापा दुई पटक दिल्लीको भ्रमणमा गइसकेका छन् भने हाल अर्थमन्त्री विष्णु पौडेल दिल्लीमा नै छन्। केही साताभित्रै प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने तयारीमा छन्।

रक्सौल-वीरगंज नाकामा भैरहेको अवरोधमा भारतको हात रहेको आरोप लगाउँदै आएका प्रधानमन्त्री ओलीले उक्त नाका सहज नभएसम्म दिल्लीको भ्रमण नगर्ने बताएका थिए।

भारतले आफुले नाकाबन्दी नगरेको र नेपालमा देखिएका समस्या राजनीतिक प्रकृतिको भएको बताउँदै आएको थियो।

वीरंगज स्थित मितेरी पुलबाट गएको शुक्रबार स्थानीयबासी तथा व्यापारीले आन्दोलनकारीले खडा गरेका अस्थायी पाल र धर्नाकारीलाई हटाएका थिए।

त्यसपछि उक्त नाका बाट आवतजावत शुरु भएपछि सोमबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नाका केन्द्रीत धर्ना स्थगित गर्ने निर्णय गरेको थियो।