अलेप्पोवासीप्रति राष्ट्र संघको चिन्ता

  • 9 फेब्रुअरी 2016

संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले भनेको छ, अलेप्पो शहर र वरपर रहेका हजारौं सिरियालीहरु अत्यावश्यक खाद्य आपूर्तिबाट बञ्चीत हुनु पर्ने अवस्थाप्रति सो संस्था एकदमै चिन्तीत रहेको छ।

जिनीभामा बोल्दै विश्व खाद्य कार्यक्रमकी एकजना प्रवक्ताले भनिन्- टर्कीको सिमा नजीकै फसीरहेका शरणार्थीहरुलाई केहि खानेकुरा वितरण भैरहेको छ तर सहायता संस्थाहरुलाई त्यहां आइरहेका मानिसहरुको संख्या थेग्न गाह्रो भैरहेको छ।

दशौं हजार सिरियालीहरु अलेप्पो शहर वरपर चर्कीएको लडाईंबाट बच्ने प्रयासमा टर्की तर्फ भागेर गैरहेको बुझिएको छ।

राहत
तस्वीर कपीराइट Getty

विश्व खाद्य संगठनले टर्कीको सिमाको ठीक पारीका क्षेत्रहरुमा मात्र राहत वितरण गर्न सकेको छ।

अलेप्पो तर्फ राहत सामाग्री पठाउने गरिएको विगतको बाटो भने अब अवरुद्ध भएको छ।

जस्का कारण हजारौं मानिसहरुले खानेकुरा पटक्कै नपाउन सक्ने सम्भावना बढेको छ।

यसै बीच संयुक्त राष्ट्र संघीय शरणार्थी निकायले सिमा क्षेत्रमा भेला भएका ३० हजार सिरियाली शरणार्थीहरुलाई तत्काल आफू कहां प्रवेश दिन टर्कीलाई आग्रह गरेको छ।

प्रवेश
तस्वीर कपीराइट Getty

पहिले नै २५ लाख शरणार्थीहरु ग्रहण गरिसकेको टर्कीले थप शरणार्थीहलाई प्रवेश दिन नसक्ने बताएको छ।

सिमा क्षेत्रमा कार्यरत सहायता संस्थाहरुले त्यहां शरणार्थीहरु आउने क्रम ह्वात्तै बढेकाले आफूहरुलाई धान्न गाह्रो परेको बताएका छन्।

कतिपय शरणार्थीहरु चर्को जाडोको याममा राती खुला आकाशमुनि सुत्न बाध्य हुनु परेको बताइएको छ।