न्यू हेम्पशायरमा पार्टीगत मतदान सम्पन्न

  • 10 फेब्रुअरी 2016
तस्वीर कपीराइट na

अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन र डेमोक्रेटको तर्फबाट उम्मेदवार चयन गर्नका निम्ति न्यू हेम्पशायरमा मतदान सकिएको छ।

अधिकारीहरुले किर्तिमानी स्तरमा मत खसेको अनुमान गरेका छन्।

न्यू हेम्पशायरका अधिकारीहरुले ५ लाखभन्दा बढी मतदाताहरुले मतदान गरेको अनुमान गरेका छन्।

रिपब्लिकनका तर्फबाट अर्बपति डोनल्ड ट्रम्प र डेमोक्रेटको तर्फबाट बर्नी स्याण्डर्स विजयी हुने देखिएको छ।

परीक्षण

आइओवा राज्यमा गत साता टेड क्रुज र हिलरी क्लिन्ट विजयी भएपछि उम्मेदवारीका लागि न्यू हेम्पशायर दोस्रो महत्वपूर्ण परीक्षण हुने बताइएको छ।

मतदानअघि गरिएका जनमत सर्वेक्षणहरुले ट्रम्पले क्रुज, मार्को रुबिन, क्रिस क्रिस्टी र जेब बुशलाई दोस्रो स्थानका लागि प्रतिस्पर्धामा छाडेर रिपब्लिकनको अगुवाई गर्ने देखाएका छन्।

डेमोक्रेटको कुरा गर्नुपर्दा सिनेटर स्याण्डर्सले हिलरी क्लिन्टनलाई पछाडि पार्ने देखिएको छ।

स्थानीय समयअनुसार अधिकांश मतदान केन्द्रहरु ७ बजे बन्द भएका थिए।

मतगणना

मतगणना शुरु भईसकेको छ र अबका केही घण्टाभित्र नतिजा आउन थाल्नेछ।

न्यू हेम्पशायर राज्यको कानुनअनुसार मतदाताले मध्यरात भएपछि मतदान गर्न पाउँछन् र मतदान सकिना साथ मतदान केन्द्रहरु बन्द हुन्छन्।

छिमेकी भर्मान्टका स्वघोषिष डेमोक्रेटिक सोसियालिस्ट स्याण्डर्सले न्यू हेम्पशायरमा हिलरी क्लिन्टनविरुद्ध जीत हासिल गर्ने विश्वास लिएका छन्।

डेमोक्रेटिकको संस्थापन पक्षको बढी समर्थन पाएकी क्लिन्टन झिनो मत अन्तरले स्याण्डरविरुद्ध आइओवा राज्यमा विजयी भएकी थिइन्।

प्रचार अभियानका क्रममा क्लिन्टनले भनिन्, “सम्मानका साथ म तपाईंहरुलाई आग्रह गर्नेछु कृपया विचार गर्नुस्, यो कार्यका निम्ति मलाई अवसर दिनुहोस्, तपाईंका लागि, तपाईंको परिवारका लागि र यो देशका लागि मैले केही फरक गर्नेछु।”