राजकीय अन्त्येष्टिको जिम्मा सेनालाई

  • 10 फेब्रुअरी 2016
तस्वीर कपीराइट .

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको बुधवार साँझ राजकीय सम्मानका साथ गर्न लागिएको अन्त्येष्टिको तयारी सुरक्षा निकायहरुले अघि बढाइरहेको गृह मन्त्रालयले जनाएको छ।

मंगलबार निधन भएका कोइरालाको परिवारको इच्छा बमोजिम धार्मिक विधि अनुसार दाहसंस्कार गरिने नेपाली कांग्रेसले जनाएको छ।

मन्त्रिपरिषद्को बैठकले राजकीय सम्मानका साथ पूर्व प्रधानमन्त्री कोइरालाको अन्त्येष्टि गर्ने निर्णय गर्दै त्यसको तयारी गर्ने जिम्मा गृह तथा रक्षा मन्त्रालयलाई दिएको थियो।

अन्त्येष्टिका क्रममा पूर्व प्रधानमन्त्री कोइरालाको सम्मानमा पशुपति आर्यघाटमा नेपाली सेनाको टुकडीले कम्तीमा १३ तोपको सलामी दिने र राष्ट्रिय गानको धुन बजाउने कार्यक्रम रहेको अधिकारीहरु बताउँछन्।

सुरक्षा

उक्त समारोहको तयारी गर्न नेपाली सेनालाई निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए।

उनले भने, “रंगशालामा राखिएको पार्थिव शरीरलाई हामीले सुरक्षा दिइरहेका छौँ र अन्त्येष्टिका लागि नेपाली सेनालाई सम्पूर्ण तयारीका साथ अघि बढ्न हामीले लेखिसकेका छौँ र उहाँहरु पनि त्यही अनुरुप तयारी अवस्थामा हुनुहुन्छ।”

तस्वीर कपीराइट EPA

नेपाली कांग्रेसले दशरथ रंगशालामा कोइरालाको पार्थिव शरीर २ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि राखिने र त्यसपछि शव यात्रा शुरु हुने जनाएको छ।

शवदाहगृह

हालै पशुपति आर्यघाटमा जडान गरिएको विद्युतीय शव दाहगृहमा कोइरालाको अन्तिम संस्कार गर्न पार्टीले अग्रसरता लिएपनि परिवारको सुझावलाई ध्यान दिंदै नियमित धार्मिक संस्कार अनुसार नै दाहसंस्कार गर्न लागिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले बताए।

उनले भने, “पार्टीको तर्फबाट विद्युतीय शव दाहगृहको कुरा छलफलमा ल्याएका थियौँ, तर कुन विधिबाट गर्ने भन्नेमा परिवारकै निर्णय मुख्य हुने र त्यसमा उहाँहरुको सहमति नरहेकाले सामान्य अवस्थामा जसरी नै दाहसंस्कार गर्ने निर्णय गरेका छौँ।”

कोइरालाको शव यात्रा र अन्त्येष्टिमा हजारौँ शुभेच्छुकहरुको सहभागिता हुने आकंलन गर्दै दंगा नियन्त्रणमा तालिमप्राप्तसहित सशस्त्र एवम् नेपाल प्रहरीलाई सुरक्षाको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ।