पूर्व प्रधानमन्त्री कोइरालाको अन्त्येष्टि

  • 10 फेब्रुअरी 2016
तस्वीर कपीराइट bbc
Image caption पशुपतिमा केही समय यता विद्युतिय शवदाह गृह भए पनि कोइरालाको भने हिन्दु परम्परा अनुसार चितामै राखेर अन्त्येष्टि गरिएको थियो

पूर्व प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको बुधबार पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ।

मंगलबार विहान करिब १ बजे निधन भएका कोइरालाको पार्थिव शरिरलाई मंगलबार र बुधबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय र रंगशालामा राखेपछि बुधबार उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो।

उनको पार्थिव शरीरमा बुधबार हजारौं मानिसहरुले श्रद्धाञ्जली दिए। दिउँसो साढे दुई बजे उनको शवयात्रा त्रिपुरेश्वरबाट शुरु भएको थियो।

शवयात्रा

हजारौंको संख्यामा सर्वसाधारण सहभागी रहेको उक्त शवयात्रा थापाथली, माइतीघर मण्डला, पुतलीसडक, कमलादी, गौशाला हुँदै पशुपति आर्यघाटमा करिब ४ बजे पुर्याइएको थियो।

शव आर्यघाट पुर्याउनुभन्दा अघि नै पशुपति परिसर वरपर र खासगरी आर्यघाटमा मानिसहरुको ठूलो भींड भएको थियो।

केहीले सुशीलले संविधान ल्याए भनेर पनि नारा लगाइरहेका थिए।

उनलाई आर्यघाट पुर्याए देखिनै शंखको एकनासको धुन बजाइएको थियो।

ब्रह्मनालबाट उठाएर खासतरिकाले सजाइएको चितामाथि राखेपछि त्यही धुन बजिरहँदा, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाइदिए।

त्यसलगत्तै उपप्रधानमन्त्री, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, पूर्वमन्त्रीहरु, उच्च ओहोदाका पदाधिकारी तथा कुटनीतिक नियोगका प्रतिनिधिले अन्तिम श्रद्धाञ्जली दिए।

योगदानको चर्चा

अविवाहित उनको पार्थिव शरिरमा उनका भतिजाहरु अतुल र सुधांशु कोइरालाले दागबत्ती दिए।

राजकीय सम्मानसहित अन्त्येष्टिको तयारी गरेको नेपाली सेनाले राष्ट्रिय धुनमाझ उनलाई १३ तोपको सलामी चढाएको थियो।

संविधानसभाबाट संविधान लेख्ने सात दशकदेखि थाँती रहेको भनिएको काम उनैले नेतृत्व गरेको सरकारको पालामा भएको थियो।

७८ वर्ष अघि विराटनगरमा जन्मिएका कोइरालाको भौतिक शरिरको अन्त्य हुँदा उनलाई विदाइ गर्न आर्यघाटमा जम्मा भएका धेरैले उनको यही पाटोबारे बढ्ता सम्झना गरेका थिए।