'सिरियामा युद्धविराम लागू गर्न सहमति'

  • 12 फेब्रुअरी 2016
kerry तस्वीर कपीराइट Getty
Image caption अमेरिकी विदेशमन्त्री केरीले युद्धविराम एक हप्ताभित्रै लागू हुने बताएका छन्

इन्टरन्याशनल सिरियन सपोर्ट ग्रुप अफ नेशन्स् नाम दिइएको सिरियालाई सहयोग गर्ने अन्तर्राष्ट्रिय पक्षहरुको समूहले एक हप्ताभित्र शत्रुता अन्त्यको लक्ष्य लिएको छ।

जर्मनीको म्युनिखमा पत्रकार सम्मेलनमा शुक्रबार बोल्दै अमेरिकी विदेशमन्त्री जन केरीले उक्त लक्ष्यबारे जानकारी गराएका हुन्।

उनको साथमा रुसी समकक्षी सेर्गेइ लाभ्रोभ र सिरियाका लागि राष्ट्रसंघीय विशेष दूत स्टाफान ड मिस्टुरा पनि थिए।

महत्वकांक्षी

युद्धविरामको लक्ष्य महत्वकांक्षी भएको र रुस र अमेरिकासहितका राष्ट्रहरुले हिंसामा तत्काल कमी ल्याउन मिलेर काम गर्ने केरीले बताए।

केरीले दीर्घकालीन बृहत रुपमा शत्रुता अन्त्य गर्ने प्रयास हुने बताएका छन्।

'शत्रुता अन्त्य' को नीति जिहादी समूहहरु आइएस र अल नुसरा फ्रण्टका लागि भने लागू नहुने बताइएको छ।

केरीले म्युनिख वार्तामा मानवीय सहयोगलाई तुरुन्त तीव्रता दिने र राहत सामाग्रीको आपूर्तिलाई विस्तार गर्ने सहमति पनि भएको जनाए।

मानवीय सहायताका लागि पहुंच सुनिश्चित गर्न राष्ट्रसंघले एउटा कार्यदल बनाउने बताइएको छ।

सिरियामा विभिन्न पक्षबीच भड्किएको लडाइँका कारण हजारौंले ज्यान गुमाएका छन् भने लाखौं घर छाड्न बाध्य भएका छन्।