पार्टी एकीकरणका लागि वार्ता टोली बन्छ: वैद्य

  • 14 फेब्रुअरी 2016
तस्वीर कपीराइट AFP

एकीकृत माओवादी अध्यक्ष प्रचण्डले छिट्टै पार्टी एकीकरण हुने बताईरहँदा त्यसबाट अलग्गिएको नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले पनि पार्टी एकिकरणका लागि संवाद भइरहेकोले त्यसको सम्भावना रहेको बताएका छन्।

पार्टी फुटेको केही समय पछिदेखि नै पार्टी एकीकरणको प्रयास भइरहे पनि अब भने वार्ता टोली गठन गरेरै एकीकरणको प्रयास अघि बढ्ने वैद्यले बताए।

माउ पार्टीसँग छुटिएको नेकपा माओवादी मात्रै नभई उसँग पनि अलग्गिएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पनि क्रान्तिकारी पार्टीहरु एकै ठाउँ आउनुपर्ने भन्दै विज्ञप्ति निकालेका छन्।

साढे ३ वर्षअघि माउ पार्टीबाट अलग्गिएपछि एकीकृत माओवादीले नेकपा माओवादीसँगको एकीकरणको प्रयास दोस्रो संविधानसभा चुनावमा आफू तेस्रो स्थानमा पुगेपछि देखिने गरी शुरु गरेको थियो।

प्रयास

तर एकीकरणको प्रयास जारी रहेको बताइँदै गर्दा वैद्य नेतृत्वको पार्टीबाट नेत्रविक्रम चन्द पनि छुट्टिए र अर्को छुट्टै पार्टी घोषणा गरे।

केही समय अघि पार्टीका प्रभावशाली मानिने उपाध्यक्ष बाबुराम भट्टराईले त झन् पार्टी परित्याग गर्दै छुट्टै नयाँ शक्तिको घोषणा गरे।

पार्टी विभाजनको यो चरण जारी रहँदा एकीकृत माओवादी अध्यक्षले उनीहरुकै शब्दमा २१ औं जनयुद्ध दिवस मनाउने क्रममा सबैलाई एकैठाउँ ल्याउने आफ्नो प्रयास सफल नभए पनि अब छिट्टै पार्टी एकीकृत हुने दाबी गरे।

उनले भने, "केही हप्ताभित्रै पार्टी एकीकरणको प्रयासले एउटा मूर्त रुप लिनेछ, सबै माओवादी पार्टीहरु छिट्टै एकै ठाउँमा केन्द्रित भएर एउटा नयाँ आन्दोलन र अभियानमा अगाडि बढाइनेछ।"

कठिन

उनको यस्तो दाबी माझ नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले ठ्याक्कै समय त तोकेनन् तर एकीकरणको प्रयासका लागि वार्ता टोली बनाउने निर्णय भएको बताए।

उनले भने, "विचार, सिद्धान्त र कार्यदिशालाई मिलाउने प्रक्रियामा लागौं भन्ने कुरा भएको छ। निष्कर्ष त अब छलफल गर्दै गएपछि हुने कुरा हो, हामीले भर्खरै भएको केन्द्रीय सचिवालयको बैठकमा पनि वार्ता टोली बनाएर कुराकानी गर्नुपर्छ भन्ने त भएको छ।"

विभाजनले सबै फुटेका पार्टीको हैसियत पनि खुम्चिँदै गएको बेला वैद्यको यो भनाइले पार्टी एकीकरणको संकेत त गर्छ तर केही वर्षभित्रै चरणबद्ध रुपमा झण्डै आधा दर्जनमा टुक्रिएका माओवादी पार्टीहरु एकै ठाउँमा आउन भने कठिन हुने कतिपयको बुझाइ छ।