'राष्ट्रिय सरकारको आवश्यकता महसुस'

  • 13 फेब्रुअरी 2016
तस्वीर कपीराइट bikash karki
Image caption प्रधानमन्त्री के पी ओलीले राष्ट्रिय सरकारको आवश्यकता महसुस भएको बताएका छन्

चार महिना अघि एकीकृत माओवादी र अन्य साना दलसँग मिलेर बहुमतको सरकार बनाएका प्रधानमन्त्री के पी ओलीले राष्ट्रिय सहमतिको सरकारको आवश्यकता महसुस भएको बताएका छन्।

सत्तारुढ दलहरुसँग मुख्य विपक्षी नेपाली कांग्रेस र असन्तुष्ट तराई केन्द्रित दलहरु सबै एकठाउँ बसेर तराई समस्याको समाधान खोज्ने प्रयत्न भइरहेको भनिएका बेला प्रधानमन्त्रीको यो भनाइ आएको हो।

अहिलेको सरकार नयाँ चुनावले मात्र विस्थापित गर्न सक्ने प्रधानमन्त्री ओलीले बताए।

शनिबार बिराटनगरमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले भने,"राष्ट्रिय सहमतिको सरकारका निम्ति सरकार विस्तार गर्न म सँधै तयार छु।"

आवश्यकता

माओवादी र अन्य साना दलसँग मिलेर बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित भएका के पी ओलीले पुरानो सन्दर्भ कोट्याउँदै भने, "गत वर्ष बैशाख १२ गते भुईँचालो गएपछि हामीले नयाँ शिराबाट राष्ट्रिय सहमति शुरु गरेका थियौं त्यसै अन्तर्गत संविधान पनि बनेको थियो। बीचमा अलिकति तलमाथि भएपनि फेरि हामी राष्ट्रिय सहमतिको सरकारको आवश्यकता महसुस गर्छौं।"

संविधान जारी हुने प्रक्रिया शुरु भएपछि तीव्र विरोध सहित आन्दोलनमा गएको मधेशी मोर्चासँग दूरी घट्दै गएको उनले बताए।

उनले भने, "प्रदेशका सवालमा अध्ययन गरेर सिफारिश गर्नका लागि समिति बनाउने भनेका छौं त्यो बनाउँछौं । दूरीहरु घट्दै गएका छन् बादल फाट्दै गएको छ सहमति बन्दै गएको छ निकटता आउँदै गएको छ। यस परिस्थितिमा सबैको निकटताका निम्ति सहमतिका निम्ति प्रयास अगाडि बढ्नुपर्छ।"

कतै प्रधानमन्त्रीले सहमतिको सरकार भनेर मोर्चालाई सरकारमा समेट्ने तर्फ संकेत गरेका हुन् कि? भन्ने बीबीसीको प्रश्नको जवाफमा सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वर्तमान सरकारले आफ्ना माग पुरा गर्न नसक्ने भन्दै मोर्चा सरकारमा जाने टाढाको कुरा रहेको बताए।