पुरुष फुटबलमा नेपाल फाइनलमा

  • 13 फेब्रुअरी 2016
नेपाली टोली
Image caption अब नेपाली टोलीले फाइनलमा भारतीय टोलीसंग प्रतिस्पर्द्धा गर्नुपर्नेछ।

भारतको गुवाहाटीमा भइरहेको १२ औं दक्षिण एसियाली खेल (साग) अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ।

समूह 'बी' को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको नेपाली टोलीले माल्दिभ्सलाई ४-३ ले हराएको हो।

सो खेल शनिबार अबेर सकिएको थियो।

नेपाल १७ वर्षपछि दक्षिण एसियाली फुटबलको फाइनलमा प्रवेश गरेको हो।

खेलमा नेपाली खेलाडी नवयुग श्रेष्ठले तीन गोल (हयाट्रिक) गरेका थिए ।

फाइनल

निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समय दिइएको थियो ।

अतिरिक्त समयको खेलमा ३-२ ले पछाडि परेको नेपाललाई अन्तिम दुई मिनेटमा नवयुगको गोलले फाइनलमा पुराएको थियो।

अब नेपाली टोलीले फाइनलमा भारतीय टोलीसंग प्रतिस्पर्द्धा गर्नुपर्नेछ।

दक्षिण एसियाली फुटबलको समूह चरणमा भूटानलाई ५-० ले हराएको नेपाल बांगलादेशसँग २-१ ले पराजित भएको थियो ।

तर अर्को सेमिफाइनलमा बांगलादेशलाई हराएर भारत फाइनलमा पुगेको थियो।

नेपाली महिला फुटबल टोली यस अघि नै फाइनलमा पुगीसकेको छ।

गत वर्ष काठमाडौंमा आयोजित १९ वर्षमुनि समूहको फाइनल खेलमा भारतलाई हराउँदै नेपालले दक्षिण एसियाली फुटबल प्रतियोगिता जितेको थियो।