‘भारतीय सहयोग रकमको खर्च योजना तयार’

  • 15 फेब्रुअरी 2016

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले घोषणा गरेको सहयोग रकम अस्पताल, शिक्षण संस्था र सांस्कृतिक सम्पदा लगायतको पुनर्निर्माणमा खर्च गर्नेगरी योजना प्रस्ताव तयार गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका बेला सम्झौता गर्नेगरी तयार पारिएको प्रस्तावनाका बारेमा भारतीय पक्षलाई जानकारी गराइसकिएको उनले बताए।

दाता सम्मेलनमा पुनर्निर्माणका लागि एक खर्ब रूपैयाँ सहयोग गर्ने प्रतिवद्धता भारतले जनाएको थियो।

भूकम्पका कारण भत्किएका संरचनाहरुको पुनर्निर्माण गर्न भन्दै असारको दोस्रो साता आयोजना गरिएको दाता सम्मेलनमा सबैभन्दा धेरै रकमको सहयोगको घोषणा दक्षिणी छिमेकी भारतले गरेको थियो।

प्राथमिकता

घोषणा अनुरुप अन्य धेरै दाताहरुले योजनाको छनोट गरिसक्दा पनि खासै चासो नदेखाएको उसले हालै भारत भ्रमणमा गएको नेपाली टोलीलाई योजना छनोटसहितको प्रस्ताव ल्याउन भनेको थियो।

सोही अनुरुप नेपाल सरकारका तर्फबाट प्राथमिकताका योजनाको तयारी गरिएको मन्त्री पौडेलले बताए।

उनले भने, “हाम्रा पुनर्निर्माणका प्राथामिकता अनुरूप नै हामीले भवन, सांस्कृतिक सम्पदा, अस्पताल, शिक्षण संस्था लगायताको निर्माणका लागि खर्च गर्छौँ र त्यो कुरा उहाँहरुलाई जानकारी दिएका छौँ।”

पुनर्निर्माणका लागि दिइने रकम छिटो खर्च हुने खालका योजनातर्फ भारत सरकारको चासो रहेको पौडेलले बताए।

यस बारेको द्वीपक्षीय सम्झौता प्रधानमन्त्री ओलीको यही ७ गतेदेखि हुने भारत भ्रमणका बेला गर्नेतर्फ दुवै देश लागिरहेको उनले बताए।

अनुदान

पौडेलले भने, “प्रधानमन्त्रीको भ्रमणका बेला यो विषयमा सहमती हुने परिस्थिति निर्माण होस् भन्ने दुवै पक्षको चाहना छ, त्यस हिसाबले तयारी भएका छन्।”

भारतले सहयोग घोषणा गरेको एक खर्ब रुपैयाँमध्ये २५ प्रतिशत अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो ।

भूकम्प गएको करिब १० महिना पुग्न लाग्दा भारतमा हुने समझदारीले नेपालमा पुनर्निर्माणले गति लिन सक्ने अपेक्षा गरिएको छ।

हालसम्म विभिन्न दाताहरुले घोषणा गरेको रकममध्ये करिब ९० अर्ब बराबरको सम्झौता भइसकेको बताइएको छ।