‘भारत भ्रमण असमझदारी अन्त गर्न लक्षित’

  • 16 फेब्रुअरी 2016
Image caption भ्रमण अगाडी तराईका दलहरुसंग केही सहमति गर्ने प्रधानमन्त्रीको योजना रहेको उनले बताए

यसै साता हुन लागेको आफ्नो भारत भ्रमण दुई देशबीच हालै देखिएका असमझदारी समाप्त पार्न लक्षित रहने प्रधानमन्त्री केपी ओलीले बताएका छन्।

उक्त साताव्यापी राजकीय भ्रमणबारे संसदमा जानकारी दिंदै उनले भ्रमण पश्चात दुई देश बीच कुनै पनि असमझदारी बाँकी नरहुन् भन्ने आफुले चाहेको बताए।

साथै सो भ्रमण अगावै आन्दोलनरत मधेशी मोर्चाको माग सम्बोधन गर्ने गरी राजनीतिक समिति गठन गरिने प्रधानमन्त्रीले बताएका छन्।

ध्यान

करिब चार महिना अगाडी नयाँ संविधान निर्माण भएपछि नाका अवरोधका रुपमा दक्षिणी छिमेकीले तीखो असन्तुष्टी पोखिरहेको असहजपूर्ण समयमा केपी ओली प्रधानमन्त्री बनेका हुन्।

यो चार महिनामा उनको अधिकांश ध्यान दक्षिणी छिमेकीसंगको सम्बन्ध सुधारमै केन्द्रित हुन पुग्यो।

आफ्नो सरकारले महिनौं गरेको प्रयासका कारण दुई देशीय सम्बन्ध विस्तारै सुध्रिन थालेको र ती असमझदारीलाई हटाउने प्रयासलाई अन्तिम रुप दिन अब आफु भारत जान लागेको उनले बताएका छन्।

मंगलबार संसदमा आफ्नो भारत भ्रमणबारे जानकारी दिंदै उनले भने, “हामी भारतसंग मित्रतापूर्ण सम्बन्ध अघि बढाउन चाहन्छौं। मित्रतापूर्ण सम्बन्ध अगाडी छँदैछ। बीचमा केही असमझदारी भएका कुराहरुलाई समाप्त पार्न चाहन्छौं। हिजो केही अप्रिय खालका कुराहरु लागेपनि अब त्यसैमा अल्झिएर बस्ने होइन। नयाँ ढंगले मैत्री सम्बन्धलाई पारस्परिक लाभ र सहयोगका आधारमा अगाडी काम हामीले गर्नुपर्छ।”

समिति

भारतसंगको सम्बन्ध सुधारमा महत्वपूर्ण आन्तरिक कडीको रुपमा प्रकट भएको तराई मधेश समस्या समाधानका विषयमा समेत उनले संसदमा बोलेका छन्।

खासगरी अचानक नाका अवरोध हटेपनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन रोकेको छैन। उसलाई सहमतिमा ल्याउन केही अगाडी दिल्लीमै पुगेर परराष्ट्रमन्त्री कमल थापाले बुझाएको सूत्रको बाँकी भाग भ्रमण अगावै पूरा गर्ने इच्छा प्रधानमन्त्रीले देखाएका छन्।

संविधानको पहिलो संशोधनमार्फत निर्वाचन क्षेत्र तथा समानुपातिक समावेशीसम्बन्धी मुद्दाको सम्बोधन भए पनि सीमांकन विवादलाई सल्टाउन राजनीतिक समिति बनाई केही समय दिएर सुझाव लिइने उक्त सूत्रको बाँकी विषय शुक्रबार अगावै समाधान गर्ने प्रधानमन्त्री ओलीले मंगलबार बताए।

“त्यो समिति भारत भ्रमणमा जानुभन्दा अगाडी नै गठन गर्ने प्रयासमा हामी लागेका छौं। म यस गरिमामय संसदलाई भन्न चाहन्छु कि भारत भ्रमणमा जानु अगाडी नै हामी त्यो समिति गठन गर्छौं,” उनले भने।

विगत केही समययता सरकारले वार्तामा उत्सुकता नदेखाएको भनेर मोर्चाले आरोप लगाउँदै गर्दा प्रधानमन्त्रीले उक्त भनाई राखेका हुन्।

मंगलबारै संसदमा बोल्दै कानुनमन्त्री अग्नि मधेश आन्दोलनका क्रममा कतिपयलाई झुटा मुद्दा लगाइएको अनि घाईतेलाई उपचार व्यवस्था नभएकोप्रति मोर्चाले गरेका गुनासा छानबिन र सम्बोधन गरिने बताएर वातावरण थप सहज पार्ने सरकारी प्रयासको संकेत गरेका छन्।

प्रधानमन्त्री ओली फागुन ७ गते देखि १२ गतेसम्म भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ।