युद्ध अपराध गरेको आरोपको रुसद्वारा प्रतिवाद

  • 16 फेब्रुअरी 2016
तस्वीर कपीराइट EPA

रुसले सिरियामा रहेका अस्पतालहरुमा भएको बम हमलाको विषयलाई लिएर लगाइएको युद्ध अपराधको आरोपलाई कडा रुपमा प्रतिवाद गरेको छ।

टर्कीको विदेश मन्त्रालयले सोमबार दर्जनौंको ज्यान जाने गरी सिरियामा रहेका केहि अस्पतालहरुमा भएका क्षेप्यास्त्र हमलाहरुका लागि रुसलाई दोष दिएको थियो।

क्रेमलिनका प्रवक्ता डिमीत्री पेस्कोभले भनेका छन्- जो जस्ले रुसमाथि युद्ध अपराधको आरोप लगाएका छन् तिनीहरुसंग त्यस्ता आरोप पुष्टि गर्ने प्रमाणहरु छैनन्।

हमला

सोमबार उतरी सिरियाका विद्रोही नियन्त्रीत क्षेत्रमा रहेका कम्तीमा चारवटा अस्पताल र एउटा विद्यालयमा भएको क्षेप्यास्त्र हमलामा पचास जना जतिको ज्यान गएको थियो।

संयुक्त राष्ट्र संघले भनेको छ अस्पताल र चिकित्सा केन्द्रहरुलाई जानाजान आक्रमणको निशाना बनाउनु युद्ध अपराध हो।

तस्वीर कपीराइट AFP

अन्य पक्षहरुका अतिरिक्त टर्कीले पनि रुसलाई ति हमलाहरु गरेको आरोप लगाएको छ।

संयुक्त राष्ट्र संघका अनुसार सोमबार टर्कीको सिमाना नजीकै एजाज नगरमा आन्तरिक रुपमा विस्थापितहरुले शरण लिइरहेका एउटा विद्यालय र दुईवटा अस्पतालहरुमा हमला भएको थियो।

र त्यस क्रममा ३४ जना मारिनुका साथै दर्जनौं घाइते भएका थिए।

अस्पताल

त्यस क्षेत्रभन्दा अझ दक्षिणमा इडलिब प्रान्तमा रहेको मारत अल-नुमानमा रहेको मेदसां सं फ्रन्तिएको सहयोग प्राप्त अर्को अस्पतालमा पनि हमला भएको थियो।

मेदसां सं फ्रन्तिए फ्रान्सका अध्यक्ष मेगो टेरिजीएनले रोएटर्स समाचार संस्थासंग बोल्दै त्यसमा या त सिरियाली सरकार या रुस जिम्मेवार रहेको बताएका छन्।

तर बीबीसी संगको अन्तर्वार्ताका क्रममा रुसी प्रवक्ता पेस्कोभले, स्थलबाट सिरियाली अधिकारीहरुले प्रस्तुत गर्ने विवरणहरुलाई मात्र रुसले आधिकारिक रुपमा प्रमाण हो भनेर स्वीकार्ने बताएका छन्।

तस्वीर कपीराइट epa

उनका अनुसार त्यसरी प्राप्त प्रमाणले आरोपहरु भन्दा विपरीत तथ्य प्रस्तुत गरेका छन्।