‘आक्रमणबाट अन्तर्राष्ट्रिय कानुनको उल्लंघन’

  • 16 फेब्रुअरी 2016
तस्वीर कपीराइट AP

संयुक्त राष्ट्रसंघले बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान जाने गरी उत्तरी सिरियास्थित कैयौँ अस्पताल तथा विद्यालयहरुमा सोमबार गरिएको हवाई आक्रमणको कडा शब्दमा निन्दा गरेको छ।

आक्रमणबाट तीनवटा अस्पताल ध्वस्त भएको राष्ट्रसंघले जनाएको छ।

राष्ट्रसंघका महासचिव बान की मूनले हवाई आक्रमणबाट अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भएको बताएका छन्।

वासिङ्गटनले पनि उक्त आक्रमणको भर्त्सना गरेको छ, जुन आक्रमण रुसले गरेको व्यापक आरोप लगाइएको छ।

‘युद्ध अपराध’

फ्रान्सले त्यस्ता गतिविधिलाई युद्ध अपराधसँग तुलना गर्न सकिने प्रतिक्रिया दिएको छ।

स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय परोपकारी संस्था मिद्सा स फ्रन्तीयले इड्लीबस्थित आफ्नो एउटा घुम्ती अस्पतालमाथि भूलबश नभई जाननीजानी आक्रमण गरिएको बताएको छ।

उक्त आक्रमणमा कमतीमा ७ जना मारिएको विवरण प्राप्त भएको छ।

मिद्सा स फ्रन्तीयका फ्रान्स प्रमुखले भनेका छन्, “स्पष्टरुपमा सिरियाली सरकार वा रुस यसका लागि जिम्मेवार छन्।”

मारात अल-नुमानमा दुईवटा स्वास्थ्य केन्द्रमा आक्रमण गरिएको खबर छ।

निशाना

तस्वीर कपीराइट EPA

एकजना सिरियाली कूटनीतिज्ञले अमेरिकाले उक्त हवाई आक्रमण गरेको बताएका छन्।

तर उनको भनाईको खण्डन गर्दै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले त्यो पूर्णतः झुटो भएको बताएको छ।

अधिकारवादीहरुले रुसले हवाई आक्रमण गरिरहेको आरोप लगाएपनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

रुसले सिरियाका विद्रोहीविरुद्ध हवाई आक्रमण गरी सिरियाली सरकारलाई सघाउँदै आएपनि आक्रमणमा ‘आतंकवादीहरुलाई’ मात्र निशाना बनाउने गरिएको बताउँदै आएको छ।