एंगेला मर्केलद्वारा ब्रिटेनको समर्थन

  • 17 फेब्रुअरी 2016
मर्केल, क्यामरन तस्वीर कपीराइट Reuters
Image caption मर्केललाई डेविड क्यामरनका केही विचारहरु मन पनि परेको बताइएको छ

ब्रिटेनको युरोपेली संघको सदस्यता सम्बन्धी एउटा महत्वपूर्ण शिखर बैठकको एक दिन अघि जर्मन चान्सलर एंगेला मर्केलले लण्डनले प्रस्तुत गरेका सुधारका थुप्रै मागहरु जायज रहेको बताएकी छिन्।

तर युरोपेली संघका सदस्यहरुबीच थप एकीकरणबारे छेकबार हुन नहुने उनको भनाइ थियो।

जर्मन चान्सलर मर्केल बिहीबार हुने युरोपेली शिखर बैठक अघि जर्मन सांसदहरुलाई सम्बोधन गर्दै थिइन्।   एंगेल मर्केल सम्भवत: ब्रिटिश प्रधानमन्त्री डेविड क्यामरनका सबैभन्दा ठूलो साझेदार देखिएकी छिन्।

विचार

उनी ब्रिटेन युरोपेली संघ, इयुको सदस्य बनिरहोस् भन्ने चाहन्छिन्, र उनलाई डेविड क्यामरनका केही विचारहरु मन पनि परेको छ।

तिनमा राज्यले दिने सुविधा र परोपकारी प्रणालीहरु पर्दछन्।

त्यस्ता सुविधाहरु प्रदान गर्ने दायित्व ब्रसल्सको नभई राष्ट्रिय सरकारहरुको हुनु पर्ने उनले जर्मन सांसदहरुलाई सम्बोधन गर्दै बताइन्।

उनले दुई थरी गति भएको युरोपलाई आफ्नो समर्थन रहने संकेत गरिन्।

मर्केलले युरोपेली संघका सदस्यहरुबीचको सम्बन्ध अझै निकट हुनु पर्ने दिशामा कुनै व्यवधान हुन नहुने बताएकी छिन्।

कानुन

तर सदस्य राष्ट्रहरुले युरोपेली संघका सबै नियम कानूनहरु पालना गर्नै पर्छ भन्न चाहिं नहुने उनको भनाइ थियो।

जर्मन चान्सलर मर्केल उनको मेलमिलाप पूर्ण शैलीका लागि चिनिन्छिन्, तर उनका कडा सिमानाहरु पनि छन्।

उनले युरोपेली संघ भित्र निर्वाध ओहोर दोहोर गर्न पाइने र कसै विरुद्ध भेदभाव गर्न नपाइने जस्ता स्वतन्त्रताका सिद्धान्तहरुमा कुनै बहस नहुने पनि बताइन्।