ब्रिटेनमा जुन २३ तारिखमा जनमत संग्रह

  • 20 फेब्रुअरी 2016
तस्वीर कपीराइट AFP
Image caption क्यामरनले जनमत संग्रहलाई ब्रिटेनका नागरिकहरुको जीवनकालकै महत्वपूर्ण निर्णय भनेका छन्

ब्रिटेनका प्रधानमन्त्री डेविड क्यामरनले आफ्नो देश युरोपेली संघ (इयु) मा रहने वा नरहने भन्नेबारे जुन महिनाको २३ तारिखमा जनमत संग्रह गर्ने घोषणा गरेका छन्।

मन्त्रिपरिषद्लाई जानकारी गराएपछि उनले आफ्नो उक्त ऐतिहासिक घोषणा गरेका हुन्।

प्रधानमन्त्री क्यामरनका अनुसार उनी ब्रिटेन सुधारिएको इयुभित्र बस्नुपर्ने अभियानमा लाग्ने छन्।

आह्वान

मन्त्रीहरु उक्त विषयमा विषयमा विभाजित थिए।

गृहमन्त्री थेरेसा मेले इयुसँग बस्न चाहनेहरुको समूहको नेतृत्व गरेकी छन्।

कानुनमन्त्री मिशेल गोभले आफू इयुमा नबस्ने अभियानमा हस्ताक्षर गरेका छन्।

इयु छोड्नु पर्ने पक्षधरहरुले लण्डनका मेयर बोरिस जोनसन पनि आफ्नो पक्षमा सहभागी हुने आशा राखेका छन् तर मेयर अहिलेसम्म सार्वजनिक रुपमा खुलेका छैनन्।

आफ्नो बक्तब्यमा प्रधानमन्त्री क्यामरनले इयुलाई छोड्दा त्यसले अन्धकार निम्त्याउने चेतावनी दिँदै मतदाताहरुलाई आफ्नो सुधारिएको सम्झौतामा समर्थन गर्न आह्वान गरेका छन्।

उनले भनेका छन्, “जसले युरोप छोड्न चाहेका छन्, उनीहरुले ब्रिटेनको व्यापारले युरोपको खुल्ला बजारमा पहुँच राख्न सक्छ कि सक्दैन, महंगी कतिसम्म बढ्छ अथवा मानिसहरुको रोजगारी सुरक्षित हुन्छ कि हुँदैन भन्ने कुरा तपाईंहरुलाई भन्न सक्दैनन्।"

जटिल

मतदाताहरुलाई गरिएको प्रत्यक्ष अनुरोधमा उनले ‍छनोट मतदाताकै हातमा रहेको भन्दै सुधारिएको युरोपेली संघमा रहँदा ब्रिटेन सुरक्षित, बलियो र अझ राम्रो हुने बताए।

गृहमन्त्री मेले अपराध र आतंकवादविरुद्ध सुरक्षित रहन र विश्वभरीको बजारसँग पहुँच राख्न युरोपेली संघअन्तर्गत रहनु राष्ट्रिय स्वार्थको पक्षमा हुने बताएकी छन्।

कानुनमन्त्री गोभले भने प्रधानमन्त्रीको निर्णयविरुद्ध जानु आफ्नो जीवनकै सबैभन्दा जटिल निर्णय भएको बताएका छन्।

तर उनले आफ्नो देश इयु बाहिरै रहँदा स्वतन्त्र, निष्पक्ष र राम्रो हुने विश्वास व्यक्त गरे।

अस्थिर देशमा सुरक्षा प्रदान गर्नुको सट्टा इयुको नीतिले अस्थिरता र असुरक्षा बढाउने उनको भनाई थियो।