हरियाणा हिंसामा दोस्रो दिन ८ को मृत्यु

  • 21 फेब्रुअरी 2016

भारतको राजधानी दिल्ली नजिकैको हरियाणा राज्यमा जातीय आरक्षण माग गर्दै दोस्रो दिन भएको हिंसामा मारिनेको संख्या ८ पुगेको अधिकारीहरुले बताएका छन्।

बीबीसी हिन्दीका अनुसार दंगा नियन्त्रणका लागि शनिबार सेनाले चलाएको गोली लागेर ७ जना मारिएका छन् भन्ने गुटगत संघर्षमा अर्का एक जनाको ज्यान गएको हो।

सुरक्षाकर्मीले दंगाकारीलाई नियन्त्रणमा लिन आफूले प्रयास गरिरहेको बताएका छन्।

आरक्षणको माग गरिरहेको जाट समूहको आन्दोलन हिंसात्मक भएपछि ८ वटा शहरमा गोली हान्ने अधिकारसहित निषेधाज्ञा जारी गरिएको छ।

झडप

चण्डिगडमा रहेका पत्रकार संजय शर्माले अतिरिक्त मुख्य सचिवि पीके दासलाई उदृत गर्दै जानकारी दिए अनुसार झज्जरमा सेना र भीडबीच भएको झडपमा ७ जना मारिएका छन्।

अर्का एक जनाको कैथल जिल्लाको कलायतमा भएको गुटगत विवादमा मृत्यु भएको थियो।

यसअघि शुक्रबार रोहतकमा प्रहरी गोली चलाउँदा एक जना मारिएका थिए।

हरियाणामा जाट आन्दोलन शुरु भएपछि कयौँ जिल्लामा तनावको अवस्था छ।

बाटो बन्द गरिएकाले रोहतकमा हेलिकोप्टरबाट सैनिकहरुलाई लगिएको थियो।

झज्जरमा शनिबार एक जना मन्त्रीको निवासमा आक्रमण गरियो र आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भयो।

रोहतकमा पेट्रोल पम्प र प्रहरी चौकीमा आगो लगाइएको छ र रल्वे स्टेशनमा पेट्रोल बम फालिएको थियो जसका कारण आगो लग्दा एउटा खण्ड जलेको छ।

अन्योल

एक जना प्रहरी अधिकारीले बीबीसीसँग भने, “दंगाकारी अझै पनि सडकमा नै छन्, हाम्रो पहिलो प्राथमिकता उनीहरुलाई नियन्त्रण गरी कानुनी दायरामा ल्याउनु हो। हामी कानुन र सुव्यवस्था कायम गरी थप क्षति नहोस भन्ने चहान्छौँ।”

धर्ना भइरहेको स्थानमा भारतीय जाट आरक्षण समितिका कोही पनि उपस्थित देखिएका छैनन्।

अवस्था हेर्दा उनीहरुको हातबाट आन्दोलन फुस्किएर युवा आन्दोलनकारीको हातमा पुगेको जस्तो देखिन्छ।

त्यसका कारण सरकार र सुरक्षाकर्मीलाई आन्दोलनरत पक्षसँग वार्ता गर्न र उनीहरुलाई सम्झाई बुझाई गर्न कठिनाइ भइरहेको बताइन्छ।