फलफुल, तरकारीमा विषादी निरीक्षण विस्तार

  • 23 फेब्रुअरी 2016
फलफुल र तरकारी
Image caption फलफुल तरकारीमा विषादी भएनभएको अनुगमन गर्ने कार्य देशभर विस्तार गर्ने सरकारी योजना छ।

सरकारले राजधानी काठमाण्डूमा विषादीयुक्त फलफुल र तरकारी लगायतका वस्तु भित्रिन नदिने भन्दै उपत्यकाका चारवटै नाकामा निरीक्षण थालिएको बताएको छ।

यसअघि कालिमाटीमा मात्र यस्तो निरीक्षण गरिंदै आएकोमा विषादीको प्रयोग धेरै बढेको व्यापक गुनासो आएपछि उपत्यकाका मुख्य नाकाहरुमा यस्तो व्यवस्था गरिएको अधिकारीहरुले बताएका छन्।

केही दिनयताको निरीक्षणमा केही नमुनामा सामान्य विषादीको मात्रा भेटिएको उनीहरुको भनाई छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बाली संरक्षण निर्देशनालयको संयुक्त पहलमा एक हप्तादेखि उपत्यका भित्रिने चारवटा नाका भक्तपुर, कीर्तिपुर, थानकोट र बालाजुमा फलफुल, तरकारी र अन्य वस्तुहरुमा निरीक्षण थालेको हो।

जनचेतना

बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लिराम शर्मा भन्छन्, “यो एउटा अनुगमन हो, कमसेकम उत्पादन गर्ने कृषकहरुलाई सरकारले नाका नाकामा पनि विषादी जाँच गर्न थाल्यो र हामी सजग हुनुपर्छ भन्ने लागोस्, विषादी बढी प्रयोग गर्नुहुँदैन भन्ने उनीहरुलाई परोस्, केही जनचेतना पनि होस् भन्ने हिसाबले यो सञ्चालन गरिएको हो।”

स्रोत साधनको अभावले हाल हप्ताको २ दिनमात्र यस्तो अनुगमन गर्न थालिएको बाली संरक्षण निर्देशनालयले जनाएको छ।

अनुगमनका क्रममा संकलित नमुनालाई द्रुत विश्लेषण प्रविधिबाट विषादी परीक्षण गर्ने व्यवस्था मिलाइएको जनाइएको छ।

तोकिएको मापदण्डभन्दा बढी विषादी पाइएमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय खाद्य प्रयोगशालामा थप परीक्षण गरी पहिचान गरिने पनि निर्देशनालयले जनाएको छ।

मापदण्ड

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं प्रवक्ता पूर्णचन्द्र वस्तीले अनुसन्धान प्रक्रियाबारे भने, “विषादीको मात्र बढी आयो भने हामी त्यो कहाँबाट ल्याएको हो बुझ्छौं र त्यसलाई पछ्याएर मुहानसम्म पुग्छौँ।”

शुरुवाती दिनमा केही स्थानमा गरिएको प्रारम्भिक अनुगमनले विषादीको प्रयोग सामान्य देखिएपनि मापदण्डभन्दा बढी विषादीको मात्रा हेर्न आफूहरु निरन्तर लाग्ने अधिकारीहरुले बताएका छन्।

तर सरकारले यसअघि विषादीको प्रयोग रोक्न विभिन्न प्रकारका कार्यहरु संचालन गरेपनि प्रभावकारी नभएको गुनासो आइरहेको छ।