ग्वान्टानामो बन्दीगृह बन्द गर्ने योजनाको विरोध

  • 24 फेब्रुअरी 2016
तस्वीर कपीराइट McCoy Reuters

दक्षिणी क्युबास्थित ग्वान्टानामो बन्दीगृह बन्द गर्ने राष्ट्रपति बराक ओबामाको योजनाविरुद्ध अमेरिकी कंग्रेसका रिपब्लिकनहरु सशक्त रुपमा उभिएका छन्।

ओबामाले केही कैदीहरुलाई अरु मुलुकमा स्थानान्तरण गर्ने र केहीलाई अमेरिकी कारगारमा राख्ने प्रस्ताव गरेका छन्।

तर हाउस अफ रेप्रेजेन्टेटिभका सभामुख पल रायनले आंतकवादी कैदीहरुलाई अमेरिकी भूमिमा स्थानान्तरण गर्नु कानुन विपरीत हुने बताए।

रिपब्लिकन सिनेटर मिच म्याककोनेलले राष्ट्रपति ओबामाको कदमलाई कंग्रेसले रोक्ने चेतावनी दिए।

कुठाराघात

अर्का सिनेटर जन बारास्सोले उक्त योजनाले सुरक्षामाथि कुठाराघात हुने बताए।

उनले भने, “उनीहरुलाई ग्वान्टानामो बन्दीगृहबाट अमेरिका ल्याउने प्रस्तावको म विपक्षमा छु, त्यसो गर्दा शत्रु लडाकुहरु भएकाले यहाँको अदालतमा पाउने सुविधालाई लिएर उनीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सक्छ।”

तर राष्ट्रपति ओबामाले ग्वान्टानामो बन्दीगृह खुला राखिराख्नु अमेरिकी मान्यता विपरीत हुने बताएका छन्।

राष्ट्रपति ओबामा ग्वान्टानामो बन्दीगृहमा अब बाँकी रहेका ९१ जना कैदीहरुलाई उनीहरुकै देश अथवा अमेरिकी सैनिक वा गैरसैनिक कारागारमा स्थानान्तरण गर्न चाहन्छन्।

ग्वान्टानामो बन्दीगृह सञ्चालनका लागि अमेरिकाले वार्षिक साढे ४४ करोड डलर खर्च गर्दै आएको छ।

तस्वीर कपीराइट AP

सन् २००९ मै राष्ट्रपति ओबामाले उक्त बन्दीगृह बन्द गर्ने वाचा गरेका थिए।

मानव अधिकारवादीहरुले निरन्तर ग्वान्टानामो बन्दीगृहको आलोचना गर्दै आएका छन्।

अध्याय

सन् २००२ मा खुलेयता उक्त बन्दीगृहमा ७८० जना कैदीहरु राखिए।

मंगलबार ओबामाले उक्त बन्दीगृहले अमेरिकी राष्ट्रिय सुरक्षालाई कमजोर तुल्याएको पत्रकारहरुलाई बताए।

उनले भने, “हाम्रो इतिहासमा यो बन्द गर्ने अध्यायसँग सम्बन्धित विषय हो, हामीले सेप्टेम्बर ११ देखि सिकेको पाठलाई यसले प्रतिविम्बित गर्दछ, त्यो पाठ जसले हाम्रो मुलुकलाई अगाडि बढ्नका निम्ति दिशानिर्देश गर्दछ।”

तर रिपब्लिकनको तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवारी पाउने दौडमा रहेका मार्को रुबियोले ओबामाको आलोचना गर्दै ग्वान्टानामो बन्दीगृहका कैदीहरु अमेरिकी भूमिको नभएको बताए।

उनले भने, “तिनीहरु स्पष्ट रुपमा शत्रु लडाकु हुन्।”

सेप्टेम्बर ११ मा अमेरिकामा गरिएको हमलापछि संदिग्ध आतंकवादीहरुलाई राख्नका निम्ति पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले दक्षिणी क्युबामा ग्वान्टानामो बन्दीगृह खोलेका थिए।