'इयुको कालोसूचीबाट हट्ने अपेक्षामा धक्का'

  • 24 फेब्रुअरी 2016
तस्वीर कपीराइट taraair.com
Image caption नेपालमा अहिलेसम्म भएका हवाइ दुर्घटनामा ७ सय भन्दा बढी मानिसको ज्यान गइसकेको छ

हवाइ सुरक्षा सन्तोषजनक नभएको भन्दै दुई बर्ष यता नेपाली विमानहरु युरोपेली संघको कालोसूचीमा परिरहेको सन्दर्भमा, बुधबार भएको तारा एयरलाइन्सको दुर्घटनाले उक्त सूचीबाट हट्ने नेपालको आंकक्षामा थप धक्का दिएको अधिकारीहरुले बताएका छन्।

कहिलेकाहीँ वर्षमै दुई-तीनवटा विमान दुर्घटना हुने गरेको नेपालमा सन् २०१५ मा एउटा पनि दुर्घटना नहुनुलाई विज्ञहरुले उपलब्धि मान्दै आएका थिए।

पछिल्लो दुर्घटनाको कारण पत्ता लगाउने सरकारले नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

प्रगति

सन् २०१३ को अन्त्यमा यूरोपेली संघले हवाई सुरक्षा कमजोर रहेको निष्कर्ष निकाल्दै नेपाली वायुसेवा कम्पनीका विमानहरुलाई आफ्नो भूभागमा उडान गर्न प्रतिबन्ध लगाएको थियो।

त्यसपछि हवाई सुरक्षा सुधारका लागी श्रृंखलाबद्ध कदमहरु चालेको बताउने गरेका अधिकारीहरुले सन् २०१५ मा देशभित्र कुनै पनि हवाई दुर्घटना नहुनुलाई महत्वपूर्ण प्रगति मानेका थिए।

पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य नागरिक उड्ययन क्षेत्रले पत्याएका अनुभवी विमानचालकले चलाएको नयाँ विमान आज दुर्घटना हुनुले उक्त सुचीबाट हट्ने चाहनामा गहिरो धक्का लागेको बताउँछन्।

उनले भने, "कालोसूचीबाट उन्मुक्ति पाउने प्रयास भइरहेको थियो। फेरी यो घटनाले गर्दा इयूले कुन रुपमा यसलाई लिन्छ भन्ने कुराले ठूलो धक्का पुर्याएको छ।"

कारण

झन्डै ७० बर्षको हवाइ उड्ययनको इतिहास रहेको नेपालमा हालसम्म साना ठूला गरी ८० वटा दुर्घटना भएको इतिहास छ।

अधिकांश त्यस्ता दुर्घटनापछि गरिएका अनुसन्धानले नियमित मर्मतको अभाव, मौसम पूर्वानुमानमा कमजोरी तथा पाइलटमा अनुभवको कमीलाई मुख्य कारण ठम्याउने गरेका थिए।

तर यति एयरलाइन्सका उडान सुरक्षा निर्देशक रवि कंसाकारले पछिल्लो समय एयरलाइन्सहरुले व्यापक सुधार गरिरहेको बताउँछन्।

उनले भने, "ती सेफ्टी कार्यान्वयनका लागि कामहरु भइरहेका छन्। त्यसमा धेरै प्रगति भएको देखिन्छ। तर दुर्घटना यस्तो चीज हो सुरक्षा अपनाउँदैमा हुँदैन भन्न सकिँदैन। यो घटनाले पनि त्यही देखाउँछ।"

सुधारोन्मुख

हालै तारा र यति एयरलाईन्सले अन्तर्राष्ट्रिय रुपमा हवाई सुरक्षा मापदण्ड पुरा गरेको मान्यता पाउनुलाई उनले त्यस्तो सुधारको उदाहरणका रुपमा पेश गरे।

त्यसप्रति समर्थन जनाउँदै नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरले भने, "तारा र यतिले सुरक्षाका लागि जुन काम गर्दै आएको छ र त्यो प्रयासको नतिजा पनि हालै देखिएको थियो। यसले नेपालको उड्डयन क्षेत्रलाई नै उत्साहित भइरहेको बेला यो घटना हुनुलाई दुर्भाग्यपूर्ण मान्नुपर्छ।"

विज्ञहरुले विगतमा हवाइ दुर्घटनापछि आएका सुझावहरु केही कार्यान्वयन भएपनि भौगोलिक जटिलता र मौसममा फेरबदल देखिरहने हाम्रो जस्तो देशमा त्यसबारे विमानचालकलाई थप प्रशिक्षण दिनुपर्ने आवश्यक्ता रहेको औल्याएका छन्।