'कारवाही अघि बढाए व्यवसाय बन्द गर्छौं'

  • 25 फेब्रुअरी 2016
Image caption नेपालबाट दैनिक १५ सय कामदारहरु वैदेशिक रोजगारीका लागि विदेश जाने गरेका छन्

वैदेशिक रोजगार सम्वन्धी काम गर्ने कार्यालयहरु माथि प्रहरीले छापा मारेको भन्दै विरोधमा उत्रिएका व्यवसायीहरुले सरकारले त्यसरी घरपकड गर्नै हो भने व्यवसाय नै बन्द गर्ने चेतावनी दिएका छन्।

प्रहरीले भने छापाका क्रममा पक्राउ परेकाहरु माथिको कानुनी कारवाही अगाडि बढाइएको जनाएको छ।

प्रहरीले छापा मारेको विषयमा श्रम मन्त्रालयमा भएको छलफलमा कुनै निष्कर्ष निस्किन सकेन।

निर्णय

विभिन्न व्यक्ति र पीडितहरुबाट उजुरी आएको भन्दै प्रहरीले बुधबार केही वैदेशिक रोजगार व्यवसाय अर्थात् म्यानपावर कम्पनीका कार्यालयमा छापा मारेको थियो।

आफ्नो क्षेत्राधिकार नाघेर प्रहरीले छापा मारेको भन्दै बिहीबार आफ्ना सबै कार्यालय बन्द गरेका व्यवसायीहरुको भेलाले यस्तै स्थिति रहे १० दिनपछि आफ्ना इजाजतपत्र सरकारलाई फिर्ता दिएर व्यवसाय बन्द गर्ने निर्णय गरेका छन्।

व्यवसायीहरुको नियमन गर्ने निकाय कुन हो भन्ने निर्धारण हुनुपर्ने उनीहरुको भनाइ छ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले भने, "कहिले राजस्वले छापा मार्छ, कहिले प्रहरीले र कहिले अख्तियारले दुख दिइरहन्छ। कि सरकारले वातावरण श्रृजना गर्छ हैन भने इजाजतपत्र सरकारलाई बुझाउँछौं र व्यवसाय बन्द गर्छौं।"

प्रहरीले छापा मारेकोमा गुनासो गर्न श्रम मन्त्रालय पुगेका व्यवसायी, मन्त्री र प्रहरीका अधिकारीका बीचमा पनि छलफल भएको थियो।

उक्त छलफलमा छापा मार्नुको कारण र आफूलाई आएको उजुरीबारे प्रहरीले आफ्नो कुरा राखेको बताइएको छ।

माग

त्यस्तै व्यवसायीहरुले आफूहरुलाई आतंकित पार्ने काम भएको भन्दै तत्काल कारवाही रोक्नुपर्ने माग गरेका थिए।

प्रहरीले पक्राउ परेका माथिको कानुनी कारवाही नरोकिने बताएको छ।

बुधबार पक्राउ परेकाहरुलाई थप अनुसन्धान अघि बढाइ सकिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले बताए।

उनले भने, "सातवटा म्यानपावरलाई ठगीमा मुद्दा दर्ता गरेर म्याद लिएर अरु अनुसन्धान अघि बढाएका छौं, चारवटालाई वैदेशिक रोजगार विभागमा पठाइएको छ।"

वैदेशिक रोजगार व्यवसायीहरुलाई कानुनी दायरामा ल्याउने अधिकारीक संस्था वैदेशिक रोजगार विभागले प्रहरीको पछिल्लो कदमबारे प्रस्ट जवाफ दिएको छैन।

आरोप

प्रवक्ता जनकराज रेग्मीले कानुन भन्दा बाहिर कसैले जान नमिल्ने बताए।

उनले भने, "कानुनी कुरा हो, यसमा छलफल हुन्छ। कानुनमा व्यवस्था भए अनुसार कार्यान्वयन गर्छौं। कानुन भन्दा बाहिर जाने छुट कसैलाई पनि छैन।"

देशभर ६ सय भन्दा बढी म्यानपावर कम्पनीले काम गरि रहेका छन्।

धेरै रकम लिने गरेको, एउटा काम गर्ने भनेर अर्को काममा पठाउने गरेको जस्ता थुप्रै आरोप उनीहरु माथि लाग्दै आएको छ।

सरकारले पछिल्लोपटक रोजगारीमा जानेहरुलाई कतिपय देशमा निशुल्क भिसा र टिकटमा मात्र पठाउनु पर्ने र सम्बन्धित कम्पनीले सेवा शुल्क उपलब्ध नगराए १० हजार रुपैया सम्म लिन पाउने व्यवस्था व्यवसायीहरुले लागू नगरेको विभिन्न अध्यनहरुले देखाएका छन्।