सिरियामा युद्धविराम लागू भएपछि लडाइँ रोकिए

  • 28 फेब्रुअरी 2016
तस्वीर कपीराइट AFP
Image caption सिरियाली युद्धमा परी दशौं लाख विस्थापित भएका छन्

शुक्रबार मध्यरातमा लागू भएको युद्धविरामपछि सिरियामा लडाइँ उल्लेख्य रोकिएको छ।

सिरियामा गृहयुद्ध सुरु भएको पाँच वर्षयता भएको पहिलो महत्वपूर्ण युद्धविराम कार्यान्वयनमा आएको छ।

मध्यरातमा लागू भएको युद्धविराम पश्चात लडाइँका अग्रमोर्चाहरु शान्त भएका खबर आएका छन्।

तर सिरियाली सरकारी टेलिभिजनले राजधानी डमास्कसमा रहेका बस्तीमा बमबारी भएको जनाएको छ।

डमास्कसमा भएको बमबारी कसले गरेको भनिएको छैन।

छिटफुट लडाइँ

त्यस्तै अन्यत्र पनि सरकारी फौज र विद्रोहीबीच छिटफुट लडाइँका खबर आएका छन्।

युद्धविराम सम्झौताको उल्लंघन अनुगमन गर्ने अमेरिका र रुसले अध्यक्षता गरेको विशेष कार्यदलको बैठक केही समयमा जिनीभामा बस्दैछ।

हाल लागू युद्धविराम सम्झौतामा सरकारी तथा विद्रोही समूहहरु सामेल छन्।

तर इस्लामिक स्टेट भनिने आइएस तथा अल कायदा सम्बद्ध नुस्रा फ्रन्ट त्यसमा सामेल छैनन्।

युद्धविराम सम्झौतामा सामेल नभएको आइएस समूहका विद्रोहीले उत्तरी सिरियाको ताल अब्याद शहरमा हमला गरेका छन्।

टर्कीको सीमा नजिकै रहेको कुर्दिशहरुको नियन्त्रणमा रहेको उक्त शहरमाथि भएको हमलालाई आफूहरुले निस्तेज पारिदिएको कुर्दिश लडाकुहरुले जनाएका छन्।

चेतावनी

सिरियाली गृहयुद्धमा परी अढाई लाख भन्दा धेरै सिरियालीहरु मारिएका छन् भने दशौं लाख विस्थापित भएका छन्।

युद्धविरामको समय आउन थाल्दा अमेरिकी राष्ट्रपति बराक ओबामाले सिरियाली सरकार तथा उसको सहयोगी रुसलाई चेतावनी दिंदै विश्वले उनीहरुलाई नियालिरहेको बताएका थिए।

रुसले सशस्त्र समूहहरु विरुद्धका हवाई हमला रोकेको छ।

उसले अस्थायी युद्धविरामको पालना गर्ने बताएको छ।

रुसी सेना प्रमुख सेर्गेइ रुड्स्कोइले गलत निशानामा प्रहार हुनबाट रोक्न रुसी युद्धक विमानहरुलाई 'ग्राउन्ड'मै राखिएको जनाएका छन्।

शुक्रबार भने रुसी विमानहरुले सिरियाली विद्रोहीमाथि आक्रमण तेज पारेका थिए।

युद्धविराम भएको केही घण्टापश्चात सरकार नियन्त्रणमा रहेको सालामिय शहरमा भएको कार बम विष्फोटमा दुई जनाको ज्यान गएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ।

कसले आक्रमण गरेको भन्ने प्रष्ट छैन तर निशानामा सैनिकहरु थिए।

रोयटर्स समाचार संस्थाले सरकारी फौजले आक्रमण गरेको भनी विद्रोही समूहले दुईवटा दावी गरेको जनाएको छ।

फ्रि सिरियन आर्मी समूह सम्वद्ध तीन लडाकु लटाकिया प्रान्तमा मारिएको विद्रोही समूहले जनाएपनि त्यसको पुष्टि भइसकेको छैन।

संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि स्टाफान ड मिस्टुराले युद्धविरामको उल्लेख्य पालना भए मार्च ७मा शान्ति वार्ता पुन: सुरु गरिने बताएका छन्।