युद्धविरामपछि राष्ट्रसंघद्वारा सहायता विस्तार

  • 29 फेब्रुअरी 2016
तस्वीर कपीराइट AFP

संयुक्त राष्ट्रसंघले सिरियामा घेराबन्दीमा परेका क्षेत्रहरुमा आगामी पाँच दिन भित्र करिब डेढ लाख मानिसहरुलाई सहयता सामाग्री पुर्याउने लक्ष्य राखेको बताएको छ।

मार्च महिनाभित्र द्वन्द्वग्रस्त क्षेत्रका झन्डै १७ लाख मानिसलाई सहयोग पुर्याउने उसको लक्ष्य छ।

शनिबारबाट लागू भएको युद्धविराम दुवै पक्षले उल्लंघन गरिरहेको विवरण आएका छन्।

तर एउटा प्रमुख विपक्षी समूहले भनेको छ, युद्धविराम लागू भएपछि द्वन्द्वग्रस्त क्षेत्रहरुको अवस्था पहिलाभन्दा धेरै सुधार भएको छ।

सहायता

सिरियास्थित राष्ट्रसंघीय मानवीय सहयता संयोजक याकुब एल हिलोले उक्त युद्धविराम पाँच वर्ष यता सिरियाली जनताले आशा गरेको शान्ति र स्थिरता निर्माण गर्ने सबैभन्दा उपयुक्त मौका भएको बताएका छन्।

तस्वीर कपीराइट AFP

उक्त निकायले खाद्यान्न, पानी औषधि जस्ता सामाग्री मडाया भन्ने नगरमा लैजाने बताएको छ।

त्यहाँ मानिसहरु खाद्यान्नको अभावमा भोकमरीले मरेको खबर आएको थियो।

तर सहायता विस्तार गर्नुअघि सिरियाका द्वन्द्वरत पक्षसँग अनुमति लिने राष्ट्रसंघले जनाएको छ।

यसअघि अघिल्लो हप्ता हवाई माध्यमबाट डेर अल जोरमा सहयता सामाग्री पुर्याउने प्रयास असफल भएको थियो।

राष्ट्रसंघले सिरियमा झन्डै ५ लाख मानिसहरु घेराबन्दीमा बसिरहेको जनाएको छ।

युद्धविराम

युद्धविराम उल्लङ्घन भएका पनि खबर आएका छन् तर प्रमुख विपक्षी गठबन्धनले अवस्था पहिले भन्दा निक्कै सुधार भएको बताएको छ।

उक्त समूहलाई समर्थन गर्ने साउदी अरेबियाका विदेशमन्त्री अदेल अल जुबेरले भने, “रुसी हवाइ सेना र सिरियाली सरकारी पक्षद्वारा युद्धविरामको उल्लंघन भएको छ। हामी यो विषयमा सिरिया सपोर्ट ग्रुपमा आवद्ध मुलुकहरुसंग छलफल गर्छौं।”

पछिल्लो युद्धविराम अमेरिका र रुसको योजनामा आएको छ जसले सिरियाका दुई विरोधी द्वन्द्वरत पक्षहरुलाई समर्थन गरिरहेका छन्।

तर युद्धविराम इस्लामिक स्टेट र अलकायदासँग सम्बन्धित नुसरा फ्रन्टका लागि भने लागू नहुने जनाइएको छ।