फ्रान्समा आप्रवासीहरुको टहरा भत्काइएपछि झडप

  • 1 मार्च 2016
तस्वीर कपीराइट AFP

फ्रान्सको कालेय बन्दरगाहस्थित ब्रिटेन जान खोज्ने आप्रवासीहरुको अस्थायी शिविर भत्काइएपछि थप झडपहरु भएका छन्।

आप्रवासीहरु बस्दै आएको अस्थायी टहरालाई जंगल नामले चिनिने गरिएको छ।

अस्थायी टहरा भत्काउने टोलीमाथि ढुंगामुढा गरेका आप्रवासीहरुमाथि फ्रान्सको दंगा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

बन्दरगाहतिर जाने बाटोतर्फ आप्रवासीहरुको समूह अघि बढ्न खोज्दा टहराबाहिर अझै तनावको स्थिति छ।

दायित्व

फ्रान्सका सञ्चारमाध्यमका अनुसार फलामे छड बोकेका करिब डेढ सयजना मानिसहरु यातायात अवरुद्ध गर्न बाटोमा पुगेका थिए।

अन्तर्राष्ट्रिय आप्रवासी संगठनको सञ्चार मामिला प्रमुख लिओनार्द डोयलले भने, “राष्ट्रसंघीय सन्धिअनुसार विभिन्न दायित्वहरु छन्, हेरचार गर्नका निम्ति मानवीय दायित्व, शरणार्थी र शरण लिन खोज्नेहरुलाई नबिर्सौँ कि उनीहरु आप्रवासी हुन सक्छन् तर मुख्यता उनीहरु शरणार्थी धेरै भईरहेको अफगानिस्तान, सिरिया र इराकबाट आइरहेका छन्।”

अधिकारीहरुले अर्को स्थानमा गरिएको व्यवस्था अनुसार उनीहरु सर्नुपर्ने बताएपनि आप्रवासीहरुले अहिले भएको ठाउँबाट अन्यत्र जाँदा शरण लिने प्रक्रिया पूरा गर्नुपर्ने आशंका व्यक्त गरेका छन्।

र, त्यसले ब्रिटेन पुग्ने आफूहरुको आशा समाप्त हुन सक्ने उनीहरु बताउँछन्।

स्थानान्तरण

तस्वीर कपीराइट Getty

फ्रान्स सरकारले आप्रवासीहरुलाई राख्ने केन्द्रमा उनीहरुलाई स्थानान्तरण गर्न खोजिरहेको छ।

अस्थायी शिविरमा बसिरहेका आप्रवासीहरुमा मुख्यता मध्यपूर्व, अफगानिस्तान र अफ्रिकाका छन्।

अधिकारीहरुका अनुसार कालेय बन्दरगाहबाट आप्रवासीहरुको अस्थायी टहरा भत्काउने कदमबाट करिब १ हजार आप्रवासीहरु प्रभावित हुन सक्छन्।

तर सहायता संस्थाहरुले फ्रान्सका अधिकारीहरुले बताइरहेकोभन्दा बढी संख्यामा त्यहाँ आप्रवासीहरु बसिरहेको बताएका छन्।