पुनर्निर्माणका लागि निजी क्षेत्रबाट पनि प्रशिक्षण

  • 1 मार्च 2016

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण भत्किएका भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि सरकारी निकायबाट मात्र आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न नसकिने भन्दै निजी क्षेत्रबाट पनि प्रशिक्षण गराउने प्रक्रिया थालेको छ।

झण्डै ५० हजार जनशक्ति आवश्यक रहेको जनाएको प्राधिकरणले सरकार मातहतका निकायहरुले मात्र त्यति जनशक्ति निर्माण गर्न नसक्ने भन्दै निजी क्षेत्रसँग समन्वय थालिएको बताएको छ।

पूर्ण र आशिंक गरी झण्डै १० लाख घर पुनर्निर्माण गर्न विभिन्न खाले दक्ष जनशक्ति आवश्यक पर्ने प्राधिकरणको अनुमान छ।

तर प्राविधिक जनशक्ति उत्पादनका लागि व्यावसायिक तालिमको व्यवस्थापन गर्ने प्रमुख सरकारी निकाय सिटिइभीटीले आफूसँग समन्वय नभएको जनाएको छ।

तालिम

पुनर्निर्माण प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले भने, “विभिन्न संघसंस्थाहरु, गैरसरकारी संस्थाहरु जसले प्रशिक्षण दिनसक्छ तिनीहरुलाई सूचना पनि गरेका छौँ, केही संस्थाहरुले इच्छा देखाएर सम्पर्कमा आउनुभएको छ।”

भूकम्पका कारण भत्किएका घरहरुको सुरक्षित पुनर्निर्माणका लागि सकेसम्म चाँडो डकर्मी, सिकर्मी,प्लम्बर, इलेक्ट्रिसियनको तालिम दिने योजना प्राधिकरणको छ।

तर यस्ता दक्ष जनशक्ति उत्पादन गर्ने जिम्मा पाएको सरकारी निकाय प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीइभीटीले प्राधिकरणका वर्तमान पदाधिकारीहरुले आफूहरुसँग कुनै समन्वय नगरी काम अगाडि बढाएकोमा गुनासो गरेको छ।

सरसल्लाह

आफ्नै पहलमा यो वर्ष झण्डै १ हजार जनशक्ति तयार बनाउने काम जारी रहेको भन्दै सीटीइभीटीका सदस्य सचिव रामहरी लामिछानेले भने, “गर्न त जसले गरेपनि हुन्छ यो संक्रमणको बेला तर पाठ्यक्रम एउटै स्तरको हुनुपर्यो, निजीलाई उहाँहरुले कुन कोर्स दिनुहुन्छ ? त्यो त सीटीइभीटीकै दिनुपर्ला, त्यो हिसाबले उहाँहरुले हामीलाई न कुनै बैठकमा बोलाउनुभएको छ न कुनै सम्पर्क नै, हामीसँग सरसल्लाह नै छैन।”

प्रशासकीय र प्राविधिक जनशक्ति तयार पार्दै गरेको पुनर्निर्माण प्राधिकरणले प्राविधिक जनशक्तिको रुपमा आवश्यक २ सय इन्जिनियरको पनि चाँडै नै पदपूर्ति गर्ने बताएको छ।

भूकम्प आएको १० महिना बितिसक्दा समेत घरहरुको पुनर्निर्माण हुन ढिलाई भएकोमा सबैतिरबाट गुनासो बढेको छ।