संस्थापन पक्षबाटै तीनजनाको उम्मेदवारी

  • 2 मार्च 2016
तस्वीर कपीराइट .
Image caption सिटौलाले उम्मेदवारी घोषणा गर्दा पार्टीका प्रभावशाली नेताहरु देखिएका थिएनन्

कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले पदाधिकारीका दुई अलग समूह नै सार्वजनिक गरेर चुनावी मैदानमा उत्रिएका छन्।

नेतृ सुजाता कोइरालाले सभापतिको निम्ति मात्रै उम्मेदवारी दिने घोषणा गरेकी छन्।

कार्यवाहक सभापति रामचन्द्र पौडेललाई कांग्रेसभित्र ठूलो सम्मान कमाएका दिवंगत नेताद्वय वीपी कोइराला र गणेशमान सिंहका पुत्र लगायत संस्थापन पक्षीय प्रभावशाली नेताको साथ छ।

माहोल

गणेशमान पुत्र प्रकाशमान सिंहको प्रस्ताव र रामशरण महतको समर्थनमा पौडेललाई सभापति र वीपी पुत्र शशांक कोइरालालाई महामन्त्रीको उम्मेदवार घोषणा गरिएको थियो।

पार्टीको केन्द्रीय कार्यालयमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा शशांक कोइरालाले भने, “विश्वेश्वरप्रसाद कोइराला जल्ले यो पार्टी जन्माउनु भयो र सुशील कोइराला जल्ले संविधान दिनु भो, त्यसको निरन्तरताको लागि आज रामचन्द्र (पौडेल) दाई उभ्भिनु भा’को छ।”

पार्टी कार्यालयभित्र घोषणा गरिए लगत्तै पौडेल र कोइराला अन्य नेताहरुका साथ हात हल्लाउँदै कार्यालय प्रांगणमा निस्किँदा त्यही बसेर घोषणा सुनिरहेका कार्यकर्ताहरु उत्साहित देखिन्थे।

त्यसको केही बेरअघि मात्र काठमाण्डूको बत्तिसपुतलीस्थित एउटा पार्टी प्यालेसमा संस्थापनकै अन्य नेताले अर्कै गठबन्धन सार्वजनिक गरेका थिए।

प्रयास

उनीहरुले महामन्त्री कृष्णप्रसाद सिटौलालाई सभापति चर्चित युवा नेता गगन थापालाई महामन्त्री र उमाकान्त चौधरीलाई कोषाध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेका छन्।

कार्यक्रममा नेता थापाले भने, “यो महाधिवेशनले वीपीको उत्तराधिकारी खोजेको छ, गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारी खोजेको छ। तर क्रान्तिकारी उत्तराधिकारी खोजेको छ। जुन उत्तराधिकारीले वीपीको विचार ग्रहण गर्छ, वीपीको विचार माझ्छ, गिरिजाप्रसादको साहास र परिकल्पना बोकेर हिंडछ, त्यो उत्तराधिकारी खोजेको छ।”

उनीहरुलाई पनि कार्यकर्ताहरुको भीडले उत्साहित बनाउने प्रयास गरेको थियो। तर उक्त कार्यक्रममा एकाध बाहेक केन्द्रिय स्तरका नेताहरु देखिएनन्।

गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालाले ती दुबै समुहभन्दा अघि विहान आफ्नो निवासबाट उम्मेदवारी दिने घोषणा गरेकी थिइन्।

विभाजित बन्न पुगेको संस्थापन पक्षलाई चुनौति दिन लागेका शेरबहादुर देउवाले बिहिवार महाधिवेशनको उद्घाटनअघि आफू पक्षीय गठबन्धन सार्वजनिक गर्ने बताइएको छ।