'ब्रिटेनलाई इयु छोड्दा हुने परिणामबारे चेतावनी'

  • 3 मार्च 2016
तस्वीर कपीराइट AFP
Image caption फ्रान्स र ब्रिटेनको बीचमा फ्रान्सेली भूमिमा ब्रिटेनले आफ्नो सीमाना नियन्त्रण गर्न पाउने सम्झौता भएको छ

एकजना फ्रान्सेली मन्त्रीले ब्रिटेन युरोपेली संघबाट बाहिरिएमा उनको मुलुकले कलेईमा रहेको ब्रिटेनको सीमाना नियन्त्रणको काम बन्द गरिदिने चेतावनी दिएर विवाद निम्त्याएका छन्।

ईम्यानुएल म्याक्रोनले फ्रान्सले इयुको एकीकृत बजारमा ब्रिटेनको पहुँच पनि सीमित गर्न सक्ने र ब्रिटेनका ब्यांकरहरुलाई स्थानान्तरण गरेर फ्रान्स आउन लोभ्याउन सक्ने पनि बताए।

ब्रिटेनका डेभिड क्यामरन र फ्रान्सका फ्राँस्वा ओलांदबीच वार्ताको तयारी भैरहँदा म्याक्रोनको यो ठिप्पणी आएको हो।

ब्रिटेनले इयु छोड्नुपर्ने पक्षका अभियन्ताले त्यो टिप्पणीलाई तर्साउने प्रयास भनेका छन्।

झुटा प्रचार

कंजरभेटिभ पार्टीका एक सांसद बर्नर्ड जेन्किनले प्रधानमन्त्रीको अनुरोधमा अरु राष्ट्रहरुले ब्रिटिश जनतालाई इयुमै रहिरहन मनाउनका लागि झुटा प्रचार गरेको बताए।

सोही पार्टीका अर्का सांसद पिटर बोनले शरणार्थीहरु ब्रिटेनको बन्दरगाहमा आइपुगेमा उनीहरुलाई फिर्ता पठाउने बताए।

यो सम्झौता ब्रिटेनको इयु सदस्यतासंग सम्बन्धित छैन।

यो सम्झौताको उद्देश्य आप्रवासी कागजपत्रको जाँचबुझ विना मानिसहरुलाई ईंगलिश च्यानेल तरेर ब्रिटेन छिर्न नदिनु हो।

मानवीय संकट

तर यो सम्झौताका कारण फ्रान्सको कलेईमा जंगल नामक आप्रवासी शिविर स्थापना हुन पुगेको छ, जहाँ झण्डै चारहजार आप्रवासी ब्रिटेन छिर्न पर्खिरहेको अनुमान गरिएको छ।

सोमबार फ्रान्सेली प्रहरीले जंगलका झुपडीहरु भत्काउने क्रममा भीडन्त भएको थियो।

फ्रान्सले यो सम्झौता कुनै पनि समयमा अन्त्य गर्न सक्छ।

तर फ्रान्सका आन्तरिक मामिला मन्त्री बेनार काजनोभले त्यो गर्नु मुर्खता हुने र त्यसो गरेमा ठूलो मानवीय संकट श्रृजना हुने बताए।

तर उनका सहकर्मी अर्थमन्त्री म्याक्रोनको भने विपरित धारणा रहेजस्तो देखिएको छ।