कांग्रेसको तेह्रौं महाधिवेशन शुरु

  • 3 मार्च 2016
Image caption कांग्रेसको तेह्रौं अधिवेशनको उद्घाटनमा स्वदेशी विदेशी नेताहरुले सम्बोधन गरेका थिए

नेपालको सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन राजधानी काठमाण्डूमा शुरु भएको छ।

देशको भावी राजनीतिमा प्रत्यक्ष प्रभाव राख्नसक्ने भएकाले चासोका साथ हेरिएको अधिवेशनको उद्घाटन समारोहमा कांग्रेसका मुख्य नेताहरुले संविधान कार्यान्वयन र मधेश आन्दोलनलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए।

सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेसमा यसपटक नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्द्धा हुँदैछ।

विभिन्न चरणबाट चुनिएर आएका हजारौं प्रतिनिधिहरुबीच राजधानी काठमाण्डूको टुँडिखेलमा भएको उद्घाटन समारोहमा नेपाली कांग्रेसमा सभापति पदका प्रत्यासी तीनैजनाले संविधान कार्यान्वयनमा कांग्रेसको भूमिकाबारे विशेष जोड दिएका थिए।

'रुपान्तरण'

सभापतिका एक प्रत्यासी तथा कार्यवाहक सभापति रामचन्द्र पौडेलले कांग्रेसले नयाँ कार्यदिशा अपनाउनुपर्ने संकेत गर्दै भने, "देशलाई रुपान्तरण गर्न हामी रुपान्तरित हुनुपर्छ। कांग्रेस रुपान्तरित हुन सक्दैन भने हामीले नेपालको नेतृत्व गर्न सक्दैनौं।"

सभापतिका अर्का प्रत्यासी शेरबहादुर देउवाले आफ्नो अगाडि रहेका चुनौतीहरु उल्लेख गर्दै भने, "भूकम्प पछिको पुनर्निमाण गर्नुछ। संविधान कार्यान्वयन गर्नुछ। सीमांकन लगायत मधेशी मुद्दाहरुको समस्या समाधान गर्नुछ। भारतसँग बिग्रेको सम्बन्ध सुधार्नुछ। हाम्रो पार्टीको नेतृत्वमा त्यो हुन सक्छ।"

२०६२/६३ को आन्दोलन यताको राजनीतिमा विशेष भूमिका खेल्दै आएका सभापतिका तेश्रा प्रत्यासी कृष्ण सिटौलाले अन्तरदलीय सहकार्यमा जोड दिएका थिए।

उनले भने, "नेपालको समस्याको समाधान कुनै एक दलले मात्र गर्न सक्दैन। कसैले पनि छाती सानो गर्न हुन्न। सानो चित्त गरेर नेपाल बन्न सक्दैन।"

शुभकामना

कार्यक्रममा नेपालका विभिन्न पार्टीका नेताहरु निम्त्याइएका थिए।

कार्यक्रममा शुरुदेखि अन्त्यसम्म बसेका एकीकृत माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसको उद्घाटन समारोहलाई भव्य र अनुशासित भने।

उनले भने, "लामो इतिहास भएको पुरानो पार्टी अहिलेको राजनीतिक परिवर्तनको प्रक्रियामा पनि नेतृत्वदायी भूमिका खेलेको पार्टीका नाताले नेपाली कांग्रेसका नेताहरुले कसरी विषयहरु प्रस्तुत गर्नुहुन्छ र कांग्रेस कार्यकर्ताले कसरी त्यसमा प्रतिक्रिया जनाउनुहुन्छ भन्नेबारे मेरो विशेष चासो छ।" कार्यक्रममा भारतीय र बंगलादेशका नेताहरुले संबोधन गरेका थिए।

नेपालका विभिन्न दलका नेताहरुले पनि प्रजातान्त्रिक आन्दोलनमा कांग्रेसको भूमिका औंल्याउँदै शुभकामना दिएका थिए।

शु्क्रबारदेखि पार्टीको पदाधिकारी एवं केन्द्रीय समिति चयन गर्न मनोनयन गर्ने र बन्द सत्र मार्फत पार्टीको भावी कार्यदिशा तय गर्ने कार्यक्रम छ।