नेपाली कांग्रेसको महाधिवेशन शुरु हुँदै

  • 3 मार्च 2016
तस्वीर कपीराइट .

आगामी पाँच वर्षका निम्ति नयाँ नेतृत्व चयन गर्न नेपाली कांग्रेसको १३ औं महाधिवेशन बिहिबारदेखि शुरु हुँदैछ।

नेतृत्व चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता गरिने र आइतबार मतदान गराइने उक्त पार्टीले बताएको छ।

स्वदेश र विदेशबाट गरी करिब ३३ सय प्रतिनिधि महाधिवेशनमा भाग लिने बताइएको छ।

खुल्लामञ्चमा बिहिबार उद्घाटन समारोह राखिएको छ भने महाधिवेशनको बन्दसत्रको कार्यक्रम भृकुटीमण्डपमा हुनेछ।

प्रतिनिधि

महाधिवेशन प्रतिनिधि तथा आमन्त्रित विदेशी पाहुना आउने क्रम जारी रहेको आयोजक समितिले जनाएको छ।

तस्वीर कपीराइट .

महाधिवेशनका लागि करिब ५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

काठमाण्डू आइपुगेका प्रतिनिधिलाई विभिन्न होटलमा बस्ने प्रबन्ध मिलाइएको छ, जहाँ विभिन्न पदहरुका लागि भोट माग्नेहरु लाम लाग्ने गरेको देखिन्छ।

बिहिबार साँझदेखि उनीहरुका निम्ति सामूहिक भोजनको व्यवस्था गरिएको छ।

आगामि ५ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने यो महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुक्रबार मात्र शुरु हुनेछ।

कार्यवाहक सभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौलाले अन्य पदाधिकारी सहित र नेतृ सुजाता कोइरालाले एक्लै सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन।

उम्मेदवारी

तस्वीर कपीराइट .

वरिष्ठ नेता शेरबहादुर देउवाले बिहिबार घोषणा गर्ने बताइएका छन्।

त्यस्तै महामन्त्रीका लागि बीपी पुत्र शशांक कोइराला, युवा नेता गगन थापा र अर्जुन नरसिंह केसीले उम्मेदवारी घोषणा गरेका छन्।

कोषाध्यक्षमा भने हाल सम्म सिटौला समूहबाट उमाकान्त चौधरीले मात्र उम्मेदवारी घोषणा गरेका छन्।

केन्द्रीय सदस्यहरुका लागि पनि धेरै नेताहरुले आफ्नो उमेद्वारी घोषणा गर्ने क्रम जारी छ।

पार्टी एकतापछि पनि अहिलेसम्म दुईधारमै देखिएको कांग्रेसको यो महाधिवेशनमा संस्थापन पक्षकै तीनजनाले सभापति पदका लागि गरेको उम्मेदवारी घोषणा र युवा नेता गगन थापाले महामन्त्री पदका लागि गरेको घोषणा उम्मेदवारी दर्तामै परिवर्तन भएमा यसपटकको महाधिवेशन रोचक हुने ठानिएको छ।