कांग्रेस चुनाव: पद ६४, उम्मेदवार ३७५

  • 4 मार्च 2016
Image caption बिहीबार उद्घाटन भएको कांग्रेसको महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आइतबार चुनाव हुँदैछ

संसदको सबैभन्दा ठूलो र प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको ६४ वटा पदकानिम्ति ३७५ जना चुनावी मैदानमा उत्रिएका छन्।

काठमाण्डूमा जारी महाधिवेशनले सभापति, महामन्त्री र कोषाध्यक्ष सहित तीनजना पदाधिकारी र ६१ जना केन्द्रीय सदस्य निर्वाचित हुने छन्।

बन्द सत्रपछि निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ।

परेका केही उजुरीमा दावी नपुगेपछि सबै उम्मेदवारी सदर भएका छन्।

प्रतिवेदन

उम्मेदवारी दर्ताको समय सकिएपछि शुरु भएको बन्द सत्रमा नीति तथा कार्यक्रमका साथै राजनीतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएका छन्।

कांग्रेस प्रचार विभागका प्रमुख मिनेन्द्र रिजालका अनुसार ती प्रतिवेदन शनिवार छलफल गरेर पारित गर्ने योजना छ।

नेता रिजालले भने, “बन्द सत्रले हरेक प्रदेशबाट २-२ जना केन्द्रीय सदस्य निर्वाचित हुने गरी विधान संशोधन गरेको छ।”

सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत र थप एक मत ल्याउनु पर्ने प्रावधान छ।

योजना

सभापतिमा तीनजना उम्मेदवार भएकाले मत बाँडिएर एकै पटकमा टुंगो नलाग्ने सम्भावना पनि छ।

केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता गोपालकृष्ण घिमिरेले भने, “अनिर्णित भएमा सोमवार विहान १० बजेदेखि सबैभन्दा बढी मत ल्याउने दुईजनाबीच मतदान हुनेछ।”

सभापतिमा उम्मेदवारी दिएका शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले महामन्त्री र कोषाध्यक्ष सहितको आ-आफ्नो समूह बनाएका छन्।

उनीहरुले सदस्य पदकानिम्ति समेत आ-आफ्नो पक्षको सूची तयार गर्ने बताइएको छ।