जमानद्वारा टर्की सरकारको कडा निन्दा

  • 5 मार्च 2016
तस्वीर कपीराइट epa
Image caption पत्रकारहरुमाथि गरेको व्यवहारलाई लिएर टर्की सरकारको आलोचना अन्तर्राष्ट्रिय रुपमा बढ्दो छ

टर्कीको सबैभन्दा ठूलो पत्रिका जमानले, सरकारले आफ्नो सम्पादकीयलाई नियन्त्रणमा लिएपछि सरकारको उक्त कदमको भत्सर्ना गरेको छ।

उक्त पत्रिकाको शनिवारको अंकमा, टर्कीको सञ्चारमाध्यमले इतिहासमै सबैभन्दा काला दिनहरु अनुभव गरिरहेको लेखेको थियो।

त्यहाँको अदालतले उक्त पत्रिकालाई अबदेखि त्यहाँको प्रशासनले सञ्चालन गर्ने आदेश सुनाएको थियो।

'कालो दिन'

सरकारले नियन्त्रणमा लिए पनि शनिबार उक्त पत्रिकाका व्यवस्थापकहरुले आफ्नो शनिवारीय अंकलाई प्रेसमा पठाउन सफल भएका थिए।

उक्त अंकको अघिल्लो पृष्ठमा ठूलो अक्षरमा ‘संविधान निलम्बित भयो’ शिर्षक छापिएको थियो। त्यमा भनिएको थियो, टर्कीको सञ्चारक्षेत्रले इतिहासमै सबैभन्दा कालो दिनहरु अनुभव गरेको छ।

उसले लेखेको छ, प्रधानमन्त्री अहमत दाबुतोगुले स्वतन्त्र प्रेसको संघार ननाघ्ने बताए पनि टर्कीको सबैभन्दा धेरै विक्री हुने पत्रिका कब्जा भयो।

जमानका पाठकहरुले सरकारको उक्त कदमको विरोध गर्दै कार्यालयबाहिर प्रदर्शन गरिरहेका छन्।

प्रहरीले प्रदर्शन गर्नेहरुको उक्त भीडलाई अश्रु ग्यास र पानीको फोहोराले तितरवितर पारेको छ।

आदेश

उक्त पत्रिका अमेरिकामा बस्दै आएका मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनले चलाएको हिजमेत आन्दोलनसँग निकट रहेको ठानिन्छ।

जसलाई टर्कीले आतंकवादी समूह भन्दै त्यहाँका राष्ट्रपति रेजेब तयिप एर्दोआनको सरकारलाई अपदस्त गर्ने उद्देश्य राखेको आरोप लगाएको छ।

गुलेन कुनैबेला एर्दोआनका समर्थक थिए तर पछि उनीहरुबीच फुट आयो।

प्रदर्शनका क्रममा धेरै हिजमेत सर्मर्थकहरु पक्राउ परेका छन्।

पत्रकारहरुलाई गरेको व्यवहारलाई लिएर टर्कीको आलोचना अन्तर्राष्ट्रिय रुपमा बढ्दो छ।

अदालतले शुक्रबार करिब ६ लाख ५० हजार प्रति विक्री हुने पत्रिकालाई अब देखि त्यहाँको प्रशासनले चलाउने आदेश सुनाएको थियो। जसमा कुनै स्पष्ट कारण खुलाइएको थिएन।