रिपब्लिकनबाट कान्जसमा टेड क्रुज विजयी

  • 6 मार्च 2016
तस्वीर कपीराइट Getty

अमेरिकी राष्ट्रपति पदका लागि उम्मेदवारी टुंग्याउने पार्टीगत निर्वाचन अन्तर्गत रिपब्लिकन पार्टीको तर्फबाट टेड क्रुजले कान्जसमा जीत हासिल गरेका छन्।

कान्जसका अतिरिक्त रिपब्लिकनहरुले अन्य चारवटा राज्यमा पनि पार्टीगत निर्वाचन गराइरहेका छ।

शुरुवाती चरणमा केन्ट्की र मेनमा पनि ट्रम्पभन्दा क्रुज अगाडि देखिएका छन्।

न्यूयोर्कका अर्बपति ट्रम्पको आफू सशक्त विकल्प भएको क्रुजले बताउँदै आएका छन्।

अगाडि

रिपब्लिकनकै कतिपय संस्थापन पक्षका नेता ट्रम्पलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउन नहुने पक्षमा छन् तर समग्रमा रिपब्लिकन पार्टीको तर्फबाट ट्रम्पनै अगाडि देखिएका छन्।

ट्रम्पको गतिलाई मन्द बनाउने कतिपय रिपब्लिकनहरुको प्रयास अहिलेसम्म विफल देखिएको छ।

तस्वीर कपीराइट Reuters

बिहिबार एउटा टेलिभिजन बहसमा क्रुज र मार्को रुबियोले ट्रम्पको श्रृंखलाबद्ध आलोचना गरेका थिए।

सन् २०१२ मा रिपब्लिकनको तर्फबाट राष्ट्रपति पदका लागि चुनावी मैदानमा उत्रिएका मिट्ट रोम्नीले त ट्रम्प एकजना लोभी, हेपाहा र स्त्री जातिप्रति द्वेष राख्ने व्यक्ति भएको आरोप लगाएका थिए।

विफल

उनले ट्रम्प अमेरिकालाई नेतृत्व दिन लायक नभएको समेत दाबी गरेका थिए।

जवाफमा ट्रम्पले रोम्नीलाई बराक ओबामासँग हारेका एकजना विफल उम्मेदवार भएको बताएका थिए।

यसैबीच डेम्रोक्रेटिकहरुले ३ वटा राज्यमा पार्टीगत चुनाव गराइरहेका छन्।

हिलरी क्लिन्टनले आफ्ना प्रतिद्वन्द्वी बर्नी स्याण्डर्सलाई पछि पार्ने आशा लिएकी छन्।