कांग्रेस सभापति पदका लागि पुनः निर्वाचन

  • 7 मार्च 2016
तस्वीर कपीराइट .

नेपाली कांग्रेसको नेतृत्व लागि भएको निर्वाचनमा सभापति पदमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेको घोषणा गर्दै निर्वाचन समितिले सबैभन्दा बढी मत ल्याउने २ जना उम्मेदवारबीच पुनः मतदान हुने जनाएको छ।

निर्वाचन अधिकृत गोपाल कृष्ण घिमिरेका अनुसार दोस्रो चरणको निर्वाचनका लागि आज (सोमबार) अपरान्ह २ बजेको समय तोकिएको छ।

निर्वाचन समितिले घोषणा गरेको अन्तिम परिणाम अनुसार शेरबहादुर देउवाले १,५६४ मत प्राप्त गरेका छन्।

त्यस्तै रामचन्द्र पौडेलले १,१६० मत र अर्का उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३२४ मत पाएका छन्।

घोषणा

१०१ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

जीतका लागि ११ मत मात्र ल्याउन देउवा विफल भएका थिए।

निर्वाचन समितिका अनुसार कुल मत ३,१४८ खसेको थियो।

तर मतगणनामा ३,१४९ मत देखिएको भन्दै देउवा पक्षले विरोध गरेपछि अन्तिम परिणाम घोषणा हुन ढिलाई भएको थियो।

अन्ततः एउटा मतका लागि लामो समय विवाद गर्न उपयुक्त नहुने भन्दै उनीहरुले निर्वाचन परिणामलाई स्वीकारेर अर्को चरणको निर्वाचनमा जाने निर्णय गरेपछि अन्तिम परिणाम सार्वजनिक गरिएको निर्वाचन अधिकृत घिमिरेले बताए।

समर्थन

अब हुने निर्वाचनमा देउवा र पौडेलबीच प्रतिस्पर्धा हुनेछ।

तेस्रो स्थानमा रहेका कृष्णप्रसाद सिटौला कांग्रेसको विधान अनुसार निर्वाचन प्रक्रियाबाट बाहिरिएका छन्।

संस्थापन पक्षकै नेता सिटौलाले दोस्रो चरणमा आफूले कसलाई समर्थन गर्ने भन्ने बारेमा केही बताइसकेका छैनन्।

निर्वाचन समितिका अनुसार अरु पदका लागि भएको मतदानको परिणाम आउन कम्तीमा एक साता लाग्नेछ।