‘नक्कली चिकित्सक’माथि छानविन तीव्र

  • 10 मार्च 2016
डाक्टरको पोशाक
Image caption मेडिकल काउन्सिले नक्कली प्रमाणपत्रधारी चिकित्सकहरुमाथि अनुसन्धानको प्रक्रिया तीब्र बनाएको बताएको छ

नेपालमा स्वास्थ्य सेवामा नक्कली चिकित्सकहरु देखिएपछि नेपाल मेडिकल काउन्सिलले नेपालमा रहेका सबै चिकित्सकहरुको प्रमाणपत्रको छानविन कार्य जोडतोडका साथ अघि बढाइएको बताएको छ।

काउन्सिल नेपालमा चिकित्सकहरुलाई प्रमाणपत्र दिने निकाय हो।

उसले नेपालमा १७ हजारको संख्यामा रहेका चिकित्सकहरुको प्रमाणपत्र छानविन गरी गल्ती गरेकोलाई कारबाही गर्ने र चिकित्सा पेसाप्रतिको विश्वासमा आँच आउन नदिइने जनाएको छ।

नक्कली चिकित्सक पत्ता लगाउन ‘अपरेशन क्वाक’ नामको छानविन प्रक्रिया सुरु भएको छ र त्यसमा परीक्षा नियन्त्रण कार्यालय, उच्च-माध्यामिक शिक्षा परिषद र प्रहरीको संयुक्त टोलीले काम गरिरहेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ।

अहिलेसम्म नक्कली प्रमाणपत्र भेटिएका १४ जना चिकित्सकमाथि कारबाही प्रक्रिया अगाडि बढाइसकेको काउन्सिलले त्यस्तो संख्या अझै धेरै हुन सक्ने आशंका गरिरहेको छ।

बिगबिगी

त्यसैले ६ महिना भित्रमा दर्ता भएका सबै १७ हजार चिकित्सकको प्रमाणपत्र जाँचिने नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डाक्टर कृष्ण अधिकारीले बताए।

उनले भने," छानविन गर्दा केही भेटियो। त्यसले थप संख्या जागेको हुनाले अरु पनि छन् भन्ने भयो। हामीलाई उजुरीहरु पनि आउन थाल्यो। धेरै शंका भएकोले हामीले सबै कारबाही एकैपटक गर्न खोजेका हौं।"

तीन महिना अघि काउन्सिलको परीक्षामा सहभागी भएका चिकित्सकको प्रमाणपत्र नक्कली भेटिएपछि अन्य क्षेत्रमा जस्तै चिकित्सा क्षेत्रमा पनि नक्कली प्रमाणपत्र प्रयोग भइरहेको तथ्य सार्वजनिक भएको थियो।

छानविनलाई नजिकबाट सहयोग गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार सबैखाले प्रमाणपत्रहरु नक्कली भेटिएका छन्।

अनुसन्धान ब्युरोका प्रहरी उपरिक्षक दिवेश लोहनी भन्छन्, "प्लस टु को प्रमाणपत्रहरु धेरै नक्कली देखिएका छन्। अंक कम आएकाले थपेर प्रमाणपत्र बनाएको एकथरी छन्।”

'गलत'

“अर्काथरी चांही पुरै नक्कली लिएर आएका छन्। एसएलसीको गलत प्रमाणपत्र लिएर आउनेहरु पनि छन् र एकजनाले त एमबीबीएसकै प्रमाणपत्र गलत लिएर आए।"

प्रहरीका अनुसार दोषी प्रमाणित चिकित्सकहरुलाई उनीहरुले गरेको दोषका आधारमा ठगीदेखि कीर्ते, अंगभंग वा उपचारको क्रममा बिरामीको मृत्यु भएको छ भने ज्यान मुद्दा समेत चलाउने छ।

मेडिकल काउन्सिलले भने सम्पूर्ण छानविन र दोषीमाथि कारबाही गरिएपछि चिकित्सा क्षेत्रमा देखिएको अविश्वासको वातावरण हट्ने विश्वास गरेको छ।