सुडानको गृहयुद्धमा 'युद्ध अपराध' को आरोप

  • 11 मार्च 2016
तस्वीर कपीराइट Reuters
Image caption राष्ट्रपति साल्भा कियर र उपराष्ट्रपति रिक मिचारबीच असहमति पछि गृहयुद्ध शुरु भएको थियो

दक्षिण सुडानको सरकारले जानी, जानी सर्वसाधारणलाई दुख दिने नीति लिएको आरोप संयुक्त राष्ट्र संघले लगाएको छ।

संयुक्त राष्ट्र संघीय मानव अधिकार निगरानीकर्ताले हिंसामा युद्ध अपराध र मानवता विरुद्धको अपराध पनि परेको बताएका छन्।

सर्वसाधारणहरुलाई जानी,जानी निशाना बनाइएको, हजारौंको हत्या गरिएको र बलात्कारलाई युद्ध हतियारकै रुपमा प्रयोग गरिएको उनीहरुले बताएका छन्।

राष्ट्र संघको रिपोर्टमा उल्लेख भए अनुसार लडाकुहरुको 'पारिश्रमिक' स्वरुप बलात्कार गर्न सरकार समर्थक लडाकुहरुलाई अनुमति दिइएको थियो।

अनुसन्धान

दक्षिण सुडानमा राष्ट्रपति साल्भा कीयर र उपराष्ट्रपति रिक मचारबीच अहसमति उत्पन्न भएपछि सन २०१३ मा गृहयुद्ध शुरु भएको थियो।

गत वर्ष तेलको धनि युनिटी राज्यमा मात्रै १३ सय जना बलात्कृत भएको पत्ता लागेको सो अनुसन्धानले उल्लेख गरेको छ।

आफ्नो सेनाले सर्वसाधारणलाई लक्षित गरेको आरोप सुडान सरकारले अस्वीकार गरेको छ तर उसले त्यसबारे अनुसन्धान गरिरहेको बताएको छ।

राष्ट्रपति साल्भा कियरका प्रवक्ता एटेनी वेक एटेनीले बीबीसीलाई भने, “हामीसंग लडाईंका नियमहरु छन् र हामी ती नियमको पालना गर्छौं।”

संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त जेईद राद अल हुसैनले दक्षिण सुडानमा भएको यौन हिंसाको परिमाण र प्रकार संसारकै सबैभन्दा विभत्स मानव अधिकार हननको घटना भएको बताएका छन्।

क्रुरता

एकजना महिलाले आफ्नो श्रीमानको हत्यापछि आफ्नी छोरीलाई १० जनाले बलात्कार गरेको हेर्नुपरेको बताएकी छिन्।

सरकारी सेनाले महिलाहरुलाई अपहरण गरेर सामूहिक बलात्कार गरेको र सर्वसाधारणलाई टुक्रा, टुक्रा पारेको संयुक्त राष्ट्रसंघले बताएको छ।

एउटा छुट्टै प्रतिवेदनमा मानव अधिकारवादी संस्था एम्नेस्टी ईन्टरन्याशनलले सरकारी सेनाले ६० जना भन्दा बढी पुरुष र बालबालिकालाई ढुवानी गर्ने कन्टेनरमा राखेर निसास्सिन दिएको बताएको छ।

एमनेस्टी ईन्टरन्याशनलका अनुसन्धानकर्ताले ती निसास्सिएका मानिसको शरीर गत अक्टोबरमा युनिटी राज्यको लियर नगरको एउटा खेतमा फालिएको बताएका छन्।

सन् २०१३ पछि दक्षिण सुडानमा हजारौंको मृत्यु भएको छ र लाखौं विस्थापित भएका छन्।