युरोप जान खोज्ने आप्रवासीको संख्या वृद्धि

  • 16 मार्च 2016
तस्वीर कपीराइट AFP

भूमध्य सागरमा मानवतस्करहरु नियन्त्रणका लागि खटिएको युरोपेली संघको नौसैनिक फौजले जोखिमपूर्ण तरिकाले लिबियाबाट इटली जाने आप्रवासीहरुको संख्यामा अकस्मात वृद्धि आएको बताएको छ।

पछिल्ला दुई दिनमा इयुको उक्त फौजले दुई हजारभन्दा बढी मानिसलाई उद्धार गरेको थियो जसमध्ये अधिकांश सब-सहारा अफ्रिकी क्षेत्रका थिए।

सन् २०१६ सुरु भएयता तस्करहरुको डुंगामा लिबियाबाट इटली जान प्रति हप्ता १ हजारजति मानिसले ज्यान जोखिममा पार्ने गरेका छन्।

तर टर्कीबाट ग्रीस जानेको संख्या भने प्रति दिन दुई हजार जति छ।

वृद्धि

तस्वीर कपीराइट EPA

तथापि यो हप्ताको सुरुवातदेखि, लिबियाली समुद्री क्षेत्रबाट निस्किएका डुंगाहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ र त्यससंग इयुको फौज जुझिरहेको छ।

पांचवटा युरोपेली युद्धपोतहरुले तस्करहरुको जोखिमपूर्ण डुंगाहरुमा यात्रा गरिरहेका २ हजार मानिसको उद्धार गरेका थिए।

तीमध्ये अधिकांश सब सहारा क्षेत्रका आप्रवासीहरु रहेको बताइएको छ।

सैनिक गुप्तचर अधिकारीहरुले लिबियाका गुप्त घरहरुमा १० हजारभन्दा बढी शरणार्थीहरु इटली पुग्नका लागि प्रतीक्षारत रहेको दावी गरेका छन्।

नौसैनिक प्रमुखहरुका अनुसार, आप्रवासीको संख्या वृद्धि हुनुमा समुद्रको मौसमी अवस्थामा सुधार एक कारण हो।

ग्रीसबाट मेसेडोनिया जाने मार्ग पनि बन्द भएकाले आप्रवासीहरुको प्रवाह लिबियातिर सरेको हुनसक्ने आकलन पनि गरिएको छ।

सिरिया लगायतका मुलुकमा द्वन्द्वका कारण हजारौं आप्रवासीहरु जोखिम मोलेर युरोप जाने गर्ने क्रम तीव्र बनेपछि युरोपले अहिले हालसम्मै कठिन आप्रवासी संकट बेहोरिरहेको छ।