फ्लोरिडामा डोनल्ड ट्रम्प विजयी

  • 16 मार्च 2016
तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति पदका लागि उम्मेदवारी पाउने दौडमा रहेका रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्प फ्लोरिडामा सम्पन्न पार्टीगत निर्वाचनमा विजयी भएका छन्।

डेमोक्रेटिक पार्टीको तर्फबाट हिलरी क्लिन्टनले सहज जीत हात पार्ने देखिएको छ।

फ्लोरिडामा जीत हात पारेसँगै डोनल्ड ट्रम्पले रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवारी पाउने दिशामा अर्को खुड्किलो पार परेको देखिन्छ।

ट्रम्पका प्रतिद्वन्द्वी एवम् फ्लोरिडाका सिनेटर मार्को रुबियोले जीतका लागि उनलाई बधाई दिएका छन्।

स्थगन

मायामीमा मञ्चबाटै उनले ट्रम्पलाई बधाई दिएका थिए।

७५ प्रतिशत मतगणना भइसक्दा ट्रम्पको पोल्टामा ४५ प्रतिशत मत खसेको नतिजा देखिएपछि रुबियोले आफ्नो चुनावी अभियान स्थगित गरेको घोषणा गरेका थिए।

उनले अमेरिकी ‘राजनीतिक आँधी’को आफू बीचमा रहेको बताए।

रुबियोले अमेरिकी मतदाताहरु क्रुद्ध र निराश भएको उल्लेख गरे।

तस्वीर कपीराइट Reuters

ओहायोमा चाहिँ ट्रम्प पराजित भएका छन्।

डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदकी आकांक्षी हिलरी क्लिन्टनले ६५ प्रतिशत पाउँदा उनका प्रतिद्वन्द्वी बर्नी स्याण्डर्सले ३३ प्रतिशत मत ल्याएका छन्।

महत्वपूर्ण

ओहायोसहितका ४ वटा राज्यमा पनि पार्टीगत मतदान सम्पन्न भएको छ।

नर्थ क्यारोलाइनामा पनि क्लिन्टन विजयी हुने अपेक्षा गरिएको छ तर रिपब्लिकन पार्टीको तर्फबाट कसले बाजी मार्नेछ त्यो स्पष्ट भइसकेको छैन।

जित्ने उम्मेदवारले फ्लोरिडाका सबै ९९ र ओहायोका ६६ प्रतिनिधि पाउने भएकाले त्यहाँको पार्टीगत चुनावलाई निकै महत्वका साथ हेरिएको छ।

ती प्रतिनिधिहरुले पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवार छान्न पाउँछन्।