ओलीलाई दबाब दिन चीनलाई आग्रह

  • 18 मार्च 2016

प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणलाई लक्षित गर्दै असन्तुष्ट दलहरुको गठवन्धनले आन्तरिक राजनीतिक गतिरोध सुल्झाउनका लागि ओलीमाथि दबाब दिन चिनियाँ पक्षलाई अनुरोध गरेको छ।

संविधानप्रतिको असन्तोषबाट उत्पन्न राजनीतिक गतिरोधसंग दक्षिणी छिमेकी भारतले खुला रुपमै आफूलाई जोडे पनि चीन भने विगतमा जस्तै नेपालको आन्तरिक मामिलाबाट टाढा रहंदै आएको छ।

उक्त भेटको विवरणबारे चिनियाँ दुतावासले कुनै प्रतिक्रिया जनाएको छैन।

तर छलफलका क्रममा चिनियाँ राजदुतले नेपालको आर्थिक विकास र पूर्वाधार निर्माणमा सहयोग गर्न चीन इच्छुक रहेको बताएको एकजना मोर्चाका नेताले बताएका छन्।

अर्थ

संघीय गठवन्धनको पछिल्लो कदमलाई नेपालको राजनीतिक गतिरोधमा उत्तरी छिमेकी चीनलाई पनि तान्ने प्रयासका रुपमा कतिपयले अर्थ्याएका छन्।

तर त्यसको बचाव गर्दै उक्त गठवन्धनमा आवद्ध सद्भावना पार्टीका महासचिव मनीष सुमनले भने, “भारत र चीन हाम्रा निकट छिमेकी हुन्। पानी पर्दा छिमेकीसितै छाता माग्ने हो, टाढा जाने होइन।”

संविधानप्रति असन्तुष्ट तराई केन्द्रित मोर्चाका घटकसहितका १५ साना दलको गठवन्धनले शुक्रबार चिनियाँ राजदूत उ चुन्ताइलाई भेटेर बुझाएको ध्यानाकर्षण पत्रमा राजनीतिक गतिरोध सुल्झाउन चिनियाँ दबाबको अपेक्षा गरिएको आभास त हुन्छ तर त्यसको अन्तर्य बेग्लै रहेको भनेर बुझ्नेहरुको पनि कमी छैन।

उद्देश्य

आइतबार सुरु हुने प्रधानमन्त्रीको एक साता लामो चीन भ्रमणमा दूरगामी महत्वका केही सम्झौता हुने विवरणमाझ असन्तुष्ट नेताहरुले त्यसलाई लक्षित गरेजस्तो देखिन्छ जसलाई सद्भावना महासचिव सुमन स्वयमले यसरी स्वीकारे।

उनले भने, “प्रधानमन्त्रीलाई धेरै महत्व नदिन, महत्वपूर्ण सम्झौता नगर्न उद्देश्य राखेर पनि हामीले चिनियाँ राजदूतलाई भेटेको हो।”

सुमनसहित भेटमा सहभागी नेताहरुले चिनियाँ राजदूतले नेपालको राजनीतिक गतिरोधलाई नजिकबाट नियालिरहेको र जनस्तरमा सम्बन्ध विस्तारलाई तीव्रता दिन लागि परेको जवाफ फर्काएको बताएका छन्।

चिनियाँ दूतावासले उक्त भेटको विवरणबारे मुख खोलेको त छैन तर दूतावासमा नभेटी एउटा होटलमा भेट गर्ने उसको निर्णयलाई कतिपयले सम्भावित विवादबाट जोगिने प्रयासका रुपमा हेरेका छन्।