आप्रवासी संकटबारे टर्कीसँग सम्झौताको प्रयास

  • 18 मार्च 2016
तस्वीर कपीराइट AP
Image caption इयुका नेताहरुले टर्कीलाई प्रस्तावित सुविधा घटाउने निर्णय गरेका छन्

युरोपेली संघका नेताहरु, ब्रसल्समा भएको बैठकमा युरोपमा जारी आप्रवासी संकटसंग जुध्न टर्कीसंग कुनै सम्झौतामा पुग्न लागेका बताइएको छ।

इयुका नेताहरुले टर्कीसँगको सम्झौतालाई अनुमोदन गरेका छन् भने टर्की पनि त्यसको पक्षमा रहेको छ।

इयु सुत्रहरुका अनुसार त्यस्तो सम्झौता आगामी आइतबार र सोमबार बीचको मध्यरातबाट लागू हुन सक्नेछ।

योजना

बिहीबार रातिसम्मको कुराकानीमा ईयुका नेताहरुले टर्कीलाई प्रस्ताव गर्ने संयुक्त योजना बनाएका थिए।

योजना अनुसार फिर्ता पठाईने हरेक सिरियाली शरणार्थीको बदलामा टर्कीको शिविरमा रहेका एकजना सिरियाली शरणार्थीलाई इयुमा पुनर्वास गराईनेछ।

शुक्रबारको वार्ता भन्दा अगाडि जर्मन चान्सलर एंगेला मर्केलले सबै शरणार्थीलाई सुरक्षा दिनुपर्ने अन्तर्राष्ट्रिय मान्यता टर्कीले अनुसरण गर्नुपर्ने बताएकी थिईन्।

ग्रीसबाट शरणार्थी फर्किन थालेको केही दिनमा सिरियाली शरणार्थीको कानुनी पुनर्वास थाल्न सकिने उनले बताएकी थिईन्।

तर यो प्रणाली लागू गरिनु भन्दा अगाडि शरणार्थीको संख्या एकाएक बढ्ने सम्भावना भएको हुनाले शरणार्थीहरुलाई ग्रीसबाट टर्की चाँडै फर्काउन ईयु तयार रहनुपर्ने उनले बताईन्।

दृष्टिकोण

सहमति हुने वा नहुने भन्ने कुरा स्पष्ट नभएको संवाददाताहरु बताउँछन्।

तैपनि साझा धारणा फेला पार्ने कुरामा आफु आशावादी रहेको दावोतोलुले बताएका छन्।

तर यो संकटमा मानवतावादी दृष्टिकोण कायम राख्न चाहेको उनले बताए।

टर्कीका राष्ट्रपति रेजेप टायिप एर्दोआनले भने आप्रवासीबारे युरोपले टर्कीलाई निर्देशन दिनु भन्दा अगाडि आफ्नै इतिहास हेर्नुपर्ने बताएका छन्।

टेलिभिजनबाट प्रसारित एउटा भाषणमा उनले भने, “टर्कीले ३० लाख आप्रवासीलाई राखिरहेको बेला एक मुठी शरणार्थीका लागि ठाउँ खोज्न नसक्ने र युरोपको बीचमा उनीहरुलाई लाजलाग्दो स्थितिमा यी निर्दोष मानिसलाई राख्नेहरुले पहिले आफैंलाई हेर्नुपर्छ।”

बैठकको लागि आउँदै गर्दा टर्कीका प्रधानमन्त्री दावोतोलुले आप्रवासी मुद्दा एउटा मानवीय मुद्दा भएको र मोलमोलाई गर्ने साधन नभएको बताए।